न्यालु लेकको सडकमा जमेको हिउ पन्छाउने कार्य रोकिएपछि लिमीका वडा अध्यक्ष तामाङ सिमकोटमा डेलिगेशन

फोटो क्याप्सन वडा अध्यक्ष तामाङ ।

सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमापलारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ सदरमुकाम सिमकोटमा डेलिगेशन आई पुगेका छन् । गत असो ९ गतेबाट १२ गतेसम्म परेको भारी हिमपातले लिमी प्रवेश गर्ने न्यालु लेकमा जमेको पन्छाउने कार्य सुरु भएर पनि रोकिएपछि वडा अध्यक्ष तामाङ सदरमुकाम सिमकोट आई पुगेका हुन ।

सदरमुकाम सिमकोट पुगेर एउटा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले न्यालु लेकको लिमीतर्फको हिउ जसरी पनि फाल्ने कार्य गर्न आग्रह गरेका छन् । यसअघि पुर्वाधार बिकास कार्यालयले न्यालु लेकको सिमकोटतर्फको हिउ पन्छाउने कार्य सुरु गरेको थियो ।

पछि बजेट सकिएको भन्दै हिउ पन्छाउने कार्य बन्द गरिएपछि वडा अध्यक्ष तामाङ पैदल हिडेर सिमकोट आई पुगेका हुन । हालसम्म खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको खाद्यान्न नपुगेको, नयाँ लगाएको बाली हिउले षेती पुर्याएको र चीनको ताक्लाकोटबाट खाद्यान्न ल्याउन नसकिएको कारण हिउदमा ठुलो समस्या हुने भन्दै उनी सदरमुकाम सिमकोटमा डेलिगेशन आएका छन् ।

न्यालु लेकको सडकमा जमेको हिउ जसरी पनि बेलैमा पन्छाउनु पर्ने भनाई उनको छ । त्यो हिउ पन्छाएर तत्काल लिमीको समस्या समाधान नभए पछि हिउ थपिदै जाने र ठुलो समस्या हुने उनको भनाई छ । जिल्ला प्रशासन कार्यालयले अव सरोकारवाला पक्षसंग कुरा गरेर न्यालु लेकको हिउ पन्छाउने कार्यमा लाग्ने जनाएको छ ।

यसअघि सुरु भएको लिमी प्रवेश गर्ने न्यालु लेकमा हिउ पन्छाउने कार्य रोकिएको छ । पुर्वाधार बिकास कार्यालयले केही दिन अगाडी सल्ली हुँदै लगेको जेसिवीले सेलिवाङ दहबाट माथि जमेको हिउ पन्छाउने कार्य गरेको भएपनि वजेट सकिएको भन्दै न्यालु लेकबाट लिमीतर्फको सडकमा जमेको हिउ पन्छाउने कार्य नगरेरै काम रोकिएको हो ।

तीनदेखि पाँच फिट हिउ न्यालु लेकको सडकमा जमेको भएपनि त्यो पन्छाउने कार्य केही दिन गरेर रोकिएको होे । हिउ पन्छाउने भनेर नै जिल्ला विपद ब्यवस्थापन समितिले निर्णय गरेर न्यालु लेकको हिउ फाल्न सुरु गरेको भएपनि हाल त्यो काम अगाडी बढ्न सकेको छैन । न्यालु लकेबाट लिमीतर्फ निक्कै लामो सडकमा हिउ जमेको छ ।

अझ लेकको पछाडीपट्टि त धेरै हिउ जमेको छ । न्यालु लेकमा जमेको हिउ फाल्ने कार्य रोकिएकाले त्यसलाई सुचारु गर्न आवश्यक देखिएको छ । यसअघि लिमीको तुम्लिङमा रोकिएका चार जना न्यालु लेकको हिउ छिचौल्दै सिमकोट पुग्नु भएको थियो । त्यसैगरि वडा अध्यक्ष तामाङ सहित तीन जनाको टोली पनि न्यालु लेकबाट सिमकोट आई पुगेको थियो ।