सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना लाप्चा नाकावाट भित्रिएको साँढे उनानचालीस लाख मुल्य बराबरको अवैध चिनीयाँ मदिरा बरामद गरिएको छ । सुचनाका आधारमा सिमकोटबाट गएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको नेतृत्वको टोलीले नाम्खा गाउँपालिका– २ को नावलथाङको जङगलमा लुकाई छिपाई राखेको अवस्थामा सो मदिरा नियन्त्रणमा लिईएको हो ।
सदरमुकाम सिमकोटबाट खटिएको सम्युक्त अनुगमन टोलीले नावलथाङमा अवैध चिनीयाँ मदिरा ६०६ कार्टुन ( ७२७२ बोतल ) बोर्डवाईजर ५४ कार्टुन ( १२९६ बोतल ) र हुस्की एक कार्टुन ( १२ बोतल ) बेवारिसे रुपमा लुकाई राखेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नन्द बहादुर साउदले बताए । उक्त मदिरा उनानचालीस लाख ६६ हजार मुल्य बराबरको रहेको छ ।
चिनीयाँ अवैध मदिरा बरामद गरी नियम अनुसारको प्रक्रिया पुरा गरेर आईतबार बेलुका नै अनुगमन टोली बरामल गरिएको स्थल मै स्थानीय जनप्रतिनिधि र अन्य स्थानीय बासिन्दको रोहवरमा खाल्डो खनेर फुटाउदै नष्ट गरिएको हो ।
सो अनुगमन टोलीमा प्रजिअ गुरागाई, सशस्त्र प्हरी ४४ नम्बर गुल्मका गुल्मपति सप्रनाउ साउदको नेतृत्वमा १० जना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक युवराज ढकालको नेतृत्वमा १० जना, राष्ट्रिय अनुसन्धानका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत मेघराज कँडेल, उद्योग वाणिज्य संघका प्रतिनिधि र कोष लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको सहभागीता रहेको थियो ।
यसअघि पनि गत शुक्रबार सम्युक्त सुरक्षा टोलीले लाप्चा नाकाबाट भित्रिएको बेवारिसे अवस्था राखिएको ५१ लाख ९३ हजार छ सय रुपियाँ बराबरको अवैध चिनीयाँ मदिरा नियन्त्रणमा लिएको थियो । त्यतिबेला चिनीयाँ मदिरा र बोडबाईजर ( वियर ) बरामद गरिएको हो । सो चिनीयाँ मदिरा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।























