सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राति करिब पौने २ बजे आगलागी हुँदा जिन्सी शाखासहित विभिन्न शाखाका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय व्यवसायी नरवीर थापाले जानकारी दिए। प्रारम्भिक अनुमानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने भए पनि कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाउँपालिकाका प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीका अनुसार जिन्सी शाखामा रहेका अत्यावश्यक श्रेस्ता, लेखा शाखा तथा न्यायिक समितिको सचिवालयका अधिकांश कागजात जलेर नष्ट भएका छन्।
विद्युतका तार, बल्बलगायतका संरचनामा समेत क्षति पुगेको छ। गत वर्ष मात्र उद्घाटन गरिएको उक्त भवन जिल्लाकै नमुना प्रशासनिक भवनका रूपमा निर्माण गरिएको थियो।

















