चीनको ताक्लाकोटका हुम्लीवासीलाई दशैमा घर फिर्ता हुन नपाउने चिन्ता

फोटो क्याप्सन सीमा क्षेत्र हिल्साको हिमपात पछिको अवस्था ।

सि.टा. समाचारदाता
हुम्ला ।         दशै नजिकिएसंगै हुम्ला जिल्लाबाट चीनको पुलान काउण्टीको ताक्लाकोटमा ब्यापार तथा कामको शिलशिलामा रहँदै आउनु भएका हुम्लावासीर्ले दशैमा घर फिर्ता हुन नपाउने चिन्ता गर्न थालेका छन् ।

नाम्खा गाउँपालिका सीमा क्षेत्र नारा हिल्सामा असोज १० र ११ गते परेको भारी हिमपातले त्यसयता यारी हिल्सा सडक बन्द रहेको कारण उहाँहरुलाई घर आउन नपाउने पिरलो थपिएको हो ।

गत साउनमा चीनको पुनाल काउण्टीको ताक्लाकोटमा काम गर्न जानु भएका सिमकोट गाउँपालिका– २ का लोग भण्डारीले यस पटक नारा लेकमा हिउ जमेर यातायात सेवा बन्द रहेको कारण दशैमा घर फिर्ता आउन नपाउने अवस्था रहेको बताए ।

उनी श्रीमति सहित काम गर्न ताक्लाकोटमा गएका हुन । एक हप्ता दश दिनका लागि दशै मनाउन घर फिर्ता हुने कार्यक्रम रहेको भएपनि आउन पाउने संभावना कम रहेको भनाई उनको छ ।

ताक्लाकोटमा पनि हिमपात भएको कारण काम गर्न नपाईने अवस्था रहेको छ । यसले गर्दा खर्च ब्यवस्थापनमा समेत समस्या हुन थालेको छ । ताक्लाकोटमा ब्यापार ब्यवासय गर्न, कामदारका रुपमा गएका र अन्य प्रयोजनले गएका दुई हजार पाँच सय जना हुम्लाका स्थानीय रहेको यारी भन्सार कार्यालयमा प्रमुख रामराज जैसीले बताए ।

उनीहरु मध्य धेरै रोजगारीका लागि ताक्लाकोट रहेका छन् । हाल ताक्लाकोटमा रहेका मध्य एक हजार दुई सय जना दशैमा हुम्ला फिर्ता हुने तयारीमा रहेको भएपनि नारा लेकको सडक हिमपातको कारण सञ्चालनमा आउन नसकेको कारण आउन पाउने संभावना रहेको छैन ।

नारा लेकको सडकमा जमेको हिउ पन्छाउने कार्य सुरु भएको भएपनि पाँच मिटर हिउ जमेको कारण त्यो कार्य पनि त्यति सहज नभएको प्रहरी चौकी हिल्साले जनाएको छ ।

ताक्लाकोटमा कामका लागि जानु भएका हुम्लावासी हरेक वर्ष दशै मनाउन घर फिर्ता आउने गरेको भएपनि यसवर्ष असोज पहिरो हप्ता मै हिमपात भएको कारण सडक बन्द भएपनि यसवर्ष त्यो संभावना न्यून देखिएको छ । उहाँहरुले घरका परिवारका लागि सामान र दशै खर्च समेत पठाउन पाउने देखिएको छैन् ।