चालकद्धारा दुर्घटना नगर्ने सम्वन्धि प्रतिबद्धतापत्रमा हस्ताक्षर

फोटो क्याप्सन  :  प्रमुख जिल्ला अधिकारी गुरगाईको उपस्थितीमा चाल हरु दुर्घटना नगराउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै ।

सि.टा.समाचारदाता
हुम्ला ।    हुम्ला जिल्लामा यातायातका साधन चलाउदै आउनु भएका साना ठुला सवारी साधनका चालकहरुले दुर्घटना नगर्ने सम्वन्धि प्रतिबद्धतापत्रमा सार्वजनिक स्थानमा भएको कार्यक्रममा हस्ताक्षर गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालयले चाडपर्वको अवसरमा धेरै यातायातका साधनहरु सञ्चालनमा आउने र धेरै जसो चालक कै लापरवाहीले दुर्घटना हुने भएको कारण त्यसप्रति सचेत गराउदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने कार्य गरेको हो ।

सडक दुर्घटना न्यूनीकरण गर्न लापरवाहीले यातायातका साधन नचलाउनका लागि चालकलाई सचेत बनाउन दुर्घटना नगर्ने सम्वन्धि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने अभियानको सुरुवात गरिएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । कार्यक्रम सदरमुकाम सिमकोटको काठेचुली चोकमा आयोजना गरिएको हो ।

जिल्लाभरबाट आउनु भएका चालकहरुको उपस्थितीमा सार्वजनिक रुपमा प्रतिबद्धता जनाउने किसिमले हस्ताक्षर गर्ने कार्य गरिएको हुँदा यसले चालकहरुलाई सचेत बनाउन सहयोग पुग्ने बिस्वास गरिएको छ ।

मोटरसाईकलदेखि मालवहाक सवारी साधनहरुका चालकहरुले अब लापरवाहीले दुर्घटना नगर्ने प्रतिबद्धतापत्रमा सवैका अगाडी हस्ताक्षर गर्ने कार्य खुसीका साथ गरिएको चालक बिकास बुढा वताए ।

धेरै दुर्घटना चालकहरुको लापरवाहीले पनि हुने गरेको स्वीकार गर्दै अब चालकले त्यस्ता कुरा प्रति सचेत रहनु पर्ने उनको भनाई छ । चालकले यसरी लाईनमा उभिएर दुर्घटना हुन नदिने र सचेत भएर यातायातका साधन चलाउने भनेर हस्ताक्षर गरि सकेपछि यो कुरा यात्रा अवधिभर सम्झनु पर्ने उनले बताए ।

छिटो गए खोई कुन्नी ढिलो गए अवस्य पुगिने नेपाली उखान सम्झदै प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले चालक सचेत भए दुर्घटना सत्तरी प्रतिशत नियन्त्रणमा आउने बताए । कहिले बिशेष परिस्थितीको दुर्घटना बाहेक अन्य सामान्य रुपमा हुने दुर्घटना हुन नदिन चालकको ठुलो हात रहने बताउदै उनले हस्ताक्षर गरिएको कुरालाई चालकले सधै सम्झि राख्न आग्रह गरे ।

कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले खुसीका साथ चालक आएर अभियानमा साथ दिनु सकरात्मक कार्य भएको बताउदै यसमा अब चालकहरु गम्भीर भएर सोच्न आग्रह गरे ।

प्रहरीका अनुसार कार्यक्रममा डेढ सय चालकहरुले दुर्घटना नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नु भएको थियो । यो अभियान अब जारी रहनेछ । यो अभियान हुम्लामा पहिलो पटक प्रहरीले सञ्चालन गरेको हो । अव लापरवाहीले हुने दुर्घटनाहरु न्यूनीकरण हुने बिस्वास गरिएको छ ।