सि.टा. समाचारदाता
सिमकोट । मौसम विज्ञान विभागले कात्तिक १२ गते देखि १४ गतेसम्म वर्षाका साथै हिमपातको सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिहीबार बिहानै एक सुचना सार्वजनिक गरेर जिल्ला प्रशासन कार्यालय कामै नपरि एक स्थानबाट अर्को स्थानसम्म यात्रासमेत नगर्न आग्रह गरेको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबिर शाहीले एक सुचना जारी गर्दै बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्र, राजमार्ग तथा ग्रामीण सडकमा सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।
मौसम विभागले तोकेको उक्त समयभित्र खोला किनार, पहिरो ग्रस्त क्षेत्रमा सर्वसाधारणलाई नजान र विपदको पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई प्रेस नोटमार्फत उनले आग्रह गरेका हुन ।
साथै हुम्ला जिल्लाका केही स्थानमा हावहुरी सहित मध्यम वर्ष तथा एक दुई स्थान भारी वर्षाको संभावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात संम्भावना रहेकोले सवैलाई सर्तकता अपनाउन उनले अनुरोध छ ।
यो अवधिमा धान लगाएतका वालीनाली कटानी, भित्र्याउने तथा सुरक्षित भण्डारण गर्ने कार्य नगर्न, पर्यटक, तीर्थयात्री तथा ट्रेकरहरु उच्च हिमाली क्षेत्रमा नजान र पुगि सकेकाले सो अवधिमा सुरक्षित स्थानमा रहन र उच्च चरन क्षेत्रमा रहेका पशु चौपाया, गोठाला तथा उच्च हिमाली क्षेत्रमा जडिबुटी संङ्कलन गर्न गएका ब्यक्तिहरुले तत्काल सुरक्षित स्थानमा सर्नका लागि पनि प्रशासनले अनुरोध गरेको छ ।










