सि.टा. समाचारदाता
सिमकोट । जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने कडा खाले रुघाखोकीका बिरामीहरु बढेका छन् । मौसममा परिवर्तन आएसंगै चिसो बढ्दै जाँदा मौसमी फ्लुका बिरामीहरु बढेका हुन ।
तीन हप्तायता जिल्ला अस्पतालमा यस्ता मौसमी फ्लुका बिरामी धेरै आउन थालेको चिकीत्कस मुकेश यादवले बताए ।
कडा खाले रुघाखोकीका बिरामीहरु धेरै आउन थालेपछि अस्पतालमा चाप बढी रहेको बताउदै उनले दसैं बिदाको कारण चिकीत्सक र स्वास्थ्यकर्मीहरुलाई चौवीसै घण्टा बिरामीको उपचारको काममा खटिने ब्यवस्था गरिएको बताए । अस्पतालमा दैनिकी तीसदेखि चालीस जना यस्ता बिरामीहरु आउने गर्छन ।
मौसममा आएको परिवर्तन कै कारण यस्ता बिरामीहरु बढेको भनाई उहाँको छ । यो बिराम पनि एक हप्ता भन्दा लामो समयसम्म रहने र बिरामीले ख्याल गर्न नसके यसबाट समस्या पनि आउन सक्ने उहाँले बताउनुभयो । अलि कडै खाले रुघाखोकी भएको कारण सवैले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
तातो पानीको प्रयोग, झोलिलो खानेकुराको प्रयोग, जथाभावी बाहिर ननिस्कन र चाडवाडमा खानेकुरामा ध्यान दिन पनि उहाँले सवैलाई आग्रह गर्नुभयो । ताँजाको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामलाल देवकोटाले पाँच वटै वडामा रुघाखोकीका बिरामीहरु बढी रहेको बताए ।
रुघाखोकीको प्रकोप बढेपछि सार्वजनिक बिदा भएपनि गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेर उपचारको ब्यवस्था गरिएको उनको भनाई छ । यता अदानचुली गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा पनि मौसमी फ्लुका बिरामीहरु बढी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाले बिरामी बढेपछि दशै बिदामा रहेका स्वास्थ्यकर्मीलाई बोलाएर उपचारका लागि परिचालन समेत गरेको छ । यता सर्केगार्ड, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पनि मैसमी फ्लुका बिरामी बढी रहेको स्वास्थ्य शाखाले जनाएका छन् ।









