सि.टा.समाचारदाता
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन्।
नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा उनले आफू सात प्रदेशका विभिन्न क्षेत्रहरुमा पुगेको र सो क्रममा कमजोर आर्थिक अवस्था र आवश्यकता नदेखेका कारण बीमा नगरेको जानकारी पाएको बताए।
उनले अहिले प्राधिकरणले सरकारसँग बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न दबाब दिइरहेको बताए। उनले नीतिबाट बीमाका लागि बाध्य बनाउनसके त्यसको फाइदा बिमित स्वयंले पाउने बताए।
समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिआआइ २०२४) आजबाट काठमाडौँमा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरैन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औँ संस्करण आयोजना गरिएको बताइएको छ।
उनले भने, ‘म सातै प्रदेशको क्षेत्रमा पुगेको छु। बीमा भन्नेकुरा सुनेको छ। बीमा उसले गरेको छैन। यसका दुई कारण छन्, मसँग छ तर म गर्दिनँ। किनभने मलाई वाइयात लाग्छ एउटा कारण। अर्को मलाई गर्नु चाहिँ छ तर मसँग पैसा छैन। त्यसकारण हामीले अहिले सरकारसँग लभिङ गरिरहेको कुरा भनेकै बीमा गर्न बाध्य बनाउनु पर्यो। उसलाई बीमा गर्न बाध्य बनाउनुको मतलब पोलिसीबाट उसलाई बाध्य बनायौँ तर फाइदा उसले नै पाउने हो। बाध्य बनाउने पाटोमा हालको लागि हामीले जानुपर्छ।’
कार्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ।
जलवायु जोखिम बीमा, लघुबीमा डिजिटल प्रविधि अवलम्वन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउनेसम्बन्धी रणनीतिहरुलगायतका विषयमा सहभागीहरुबीच छलफल हुने बताइएको छ। सम्मेलनमा नेपालसहित विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था, बीमा क्षेत्रका विज्ञहरु सहभागी छन्।















