सि.टा.समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि उम्मेदवार छनौटको तयारीमा हुम्लाका राजनीति दलहरु लागेका छन् । तिहार सकिए लगत्तै दलहरुले आफ्नो तर्फबाट उम्मेदवार छनौट गरेर प्रदेशमा सिफारिस गर्ने तयारी गरि रहेका हुन ।

नेकपा माओवादी केन्द्रको कातिक ७ र ८ गते वसेको पार्टीको पुर्ण बैठकले उक्त पार्टीका केन्द्रीय सदस्य, प्रदेश कार्य समितिका पदाधिकारी र सदस्यहरु सम्मिलित मत सर्वेक्षण टोली बनाएर सर्केगार्ड गाउँपालिकाका आठ वटै वडामा खटाएको छ । उक्त पार्टीका केही नेताहरु तिहारको बेला पनि वडा मै खटिएका छन् । कातिक २१ गतेसम्म सो टोलीले वडास्तरमा मत सर्वेक्षण गर्ने र २२ गते गाउँपालिका कमिटीलाई प्रतिबेदन दिनेछ । गाउँपालिका कमिटिको सिफारिस माथि २३ गते वस्ने जिल्ला कमिटीले बैठकले उम्मेदवारको नाम टुङ्गो लगाउने छ । त्यस लगत्तै माओवादी केन्द्रले चुनावी अभियान थाल्ने तयारी गरेको छ ।

सत्तारुढ दल नेपाली काँग्रेसको कातिक १५ र १६ गते सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा बसेको जिल्ला कार्य समितिको बैठकले कातिक २१ गते वडा कार्य समितिले उम्मेदवारको नाम गाउँपालिका कार्य समितिलाई सिफारिस गर्ने, २३ गते क नम्बर प्रदेश कार्य समितिले जिल्ला कार्य समितिलाई र २४ गते जिल्ला कार्य समितिले कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गर्ने निर्णय गरे अनुसार कार्य भई रहेको काँग्रेस उपसभापति बसन्त रोकायाले बताए । उनले भरसक एकल नाम सिफारिस गर्ने गरि वडा, गाउँपालिका, प्रदेश कार्य समितिलाई छलफल अगाडी बढाउन निर्देशन दिएको भए पनि एकल नाम सिफारिस हुन नसके एक भन्दा बढी नाम पनि सिफारिस गर्न सकिने बताए । निर्वाचन आयोगले महिला मात्र उम्मेदवार बनाउन दलहरुलाई परिपत्र गरेपछि त्यति धेरै महिला आकांक्षीहरु नदेखिएको काँग्रेसले जनाएको छ ।

सर्केगार्डको बैठकमा एक जना महिलाले पनि आफ्नो आकांक्षा पेश गरेका थिएनन ।
त्यसैगरि अर्को सत्ता पक्ष दल नेकपा एमालेले पनि उपनिर्वाचनको लागि उम्मेदवार छनौटको लागि आन्तरिक तयारी थालेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल कातिक १२ गते जिल्लामा आएको बेला उनको उपस्थितीमा सर्केगार्डमा बैठक राख्ने तयारी गरेको भएपनि मुख्यमन्त्री कँडेलले पछि समय नभएको कारण सर्केगार्ड जान नसक्ने जनाएपछि एमाले बैठक रोकिएको थियो । तर तिहार लगत्तै एमालेले पनि आफ्नो उम्मेदवार टुङ्गो लगाउने तयारी गरेको छ ।
त्यस्तै राप्रपाले आफ्नो उम्मेदवारको नाम जिल्लाबाट यसअघि नै केन्द्रमा सिफारिस गरि सकेको छ भने रास्वपाले पनि उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने तयारी गरि रहेको छ । उपनिर्वाचनमा मुख्यगरि पाँच दलहरुले उम्मेदवारी दिने तयारी गरेको भएपनि नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेबिच नै प्रतिश्प्रर्धा हुने देखिएको छ ।
आगामी मंसीर १६ गते उपाध्यक्ष पदका सर्केगार्ड गाउँपालिकामा उपनिर्वाचन हुँदै छ । यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन हुँदा अध्यक्ष पदमा नेपाली काँगे्रसको उम्मेदवार ठानबहादुर रोकाया र उपाध्यक्ष पदमा माओवादी केन्द्रका चन्द्रसिंह कार्की निर्वाचित भएका थिए । उपाध्यक्ष कार्कीको यसअघि सुर्खेतबाट नेपालगंज जाने क्रममा सडक दुर्घटनमा परि मृत्यु भएको थियो । उनको मृत्युपछि सर्केगार्ड गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।











