रोकायाको रिटायर जीवन कृषि कर्ममा

सि.टा. समाचारदाता

सिमकोट । बढेस कालमा काम गर्न सकिदैन भन्ने कुरालाई चुनौती दिदै सरकारी जागिरबाट रिटायर भएका सिमकोट गाउँपालिका– ५ का धर्मराज रोकायाको कृषि कर्ममा लोभ किसिमले लागेका छन् ।

उनले गरेको कामबाट एकातिर उनी आम्दानी गर्न सफल भएका छन् भने अर्कोतर्फ त्यति कै फुर्सदिलो भएर बस्नु पर्ने अबस्था हटेको छ । रिटायर भएपछि त्यति कै खाली बस्नु भन्दा तरकारी खेती गर्ने चाहाना अनुसार हाल तरकारी खेतीमा रमाई रहेको रोकायाले बताए ।

सदरमुकाम सिमकोटलाई धान्ने तरकारी सबै हवाई मार्गबाट नेपालगंज र सुर्खेतबाट ढुवानी भएर आउने र त्यो पनि महंगोमा बिक्री हुने गरेको देखेपछि आफुलाई तरकारी खेती गर्ने भित्री ईच्छा जागेको उनले बताए । रोकाया पहिलो गाउँ विकास समितिको सचिव पदमा थिए ।

पछि संघीयता कार्यान्वयन भएपछि गाउँपालिकामा नायव सुब्बामा बढुवा भएपछि दुई वर्ष अगाडी रिटायर भएका हुन । जागिरे जीवन बाट बिदा दिएदेखि रोकायाले तरकारी खेती सुरु गरेका हुन । उनको काम बिहानदेखि बेलुकासम्म तरकारी खेती मै हुने गरेको छ । श्रीमति मुसी रोकायाले तरकारी खेतीमा सहयोग गर्दै आएकी छन् । पहिले चिनो , फापर, कोदो, आलु लगाउने जग्गामा घरबार गरेर तरकारी खेती रोकायाले सुरु गरेका छन् ।

हाल रोकायाले तरकारी खेती गरि रहेको जग्गा केही आफ्नै भएपनि केही भने लिजमा लिएका छन् । रोकायाले डेढ रोपनी भन्दा बढी जग्गामा तरकारी खेती गरेर बिक्री गर्दै आएका छन् । वर्षमा तीन पटक तरकारी खेती गरिन्छ । एउटा लटमा डेढ देखि दुई लाख रुपियाँसम्म कमाई हुने गरेको छ । उनले आफ्नो तरकारी बारीमा काउली, बन्दा, टमाटर, प्याज, क्याप्सीकन, सिमी, साग र धनियाँ उत्पादन गर्दै आएका छन् ।

यी उत्पादीत तरकारीहरु बिक्री गर्न बजार पनि जानु नपर्ने र फोनबाट अर्डर आएर पुर्याउने ब्यवस्था भने उनले गरेका छन् । तीन वटा ग्रीन हाउसमा तरकारी उत्पादन हुनुका साथै खाली जग्गामा पनि तरकारी फलाउदै आएका छन् उनले  । समाजमा रोकायालाई पहिले कर्मचारी भनेर चिन्दै आएकोमा अहिले रिटायर कर्मचारी भन्दा पनि सफल तरकारी खेती गर्ने किसानका रुपमा चिन्दै आएका छ ।