सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टीले सर्केगार्ड उपनिर्वाचनका लागि सुजाता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार सो पार्टीको सर्केगार्डमा वसेको जिल्ला भेलाले निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय गर्दै नाम समेत सार्वजनिक गरेको हो । आगामी मंसीर १६ हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवारी छनौट गरेको छ । उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि रास्वपाबाट सर्केगार्ड गाउँपालिका–४ को दुल्लीकी सुजाता थापाले उम्मेदवारी दिने जिल्ला भेलाले निर्णय गरेको उक्त पार्टीका सचिव नारायण फडेराले बताए । उम्मेदवारी दिने र छनौट गर्ने निर्णय भएसंगै अब निर्वाचनको प्रचार प्रसारमा २ गतेपछि लाग्ने उनले बताए । बैठकमा जिल्लाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बैठकले जिल्ला कार्य समितिलाई पुर्णता दिएको छ भने ।प्रदेश कार्य समिति समेत गठन गरेको छ । रास्वपा सहित अब दुई पार्टीले आफ्नो उम्मेदवार टुङ्ग्याएका छन् । यसअघि नेपाली काँग्रेसले उपनिर्वाचनका लागि सविता बुढालाई उम्मेदवार छनौट गरि सकेको छ । नेकपा माओवादी केन्द्र र एमालेले भने आफ्ना उम्मेदवार औपचारिक रुपमा छनौट गर्न सकेको छैन ।












