पोखरासँग १० विकेटले हार्‍यो लुम्बिनी

सि.टा. समाचारदाता

नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले १० विकेटको सानदार जित निकालेको छ । पहिले ब्याटिङ गर्दै लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले उक्त लक्ष्य १६.५ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो।

एनपिएलको जारी संस्करणमा पहिलो शतक प्रहार गर्दै एन्ड्रिस गौस अविजित फर्किए। ५४ बलमा उनले शतक पूरा गरेका थिए। उनलाई अर्का ओपनर दिनेश खरेलले साथ दिए। खरेलले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको नटआउट इनिङ्स खेल्दा दक्षिण अफ्रिकामा जन्मिएका अमेरिकी गौसले ५५ बलमा १ सय ४ रन प्रहार गरे। गौसले आफ्नो इनिङ्समा १२ चौका र ५ छक्का प्रहार गरेका थिए ।

यो जारी लिगमा पोखराको पहिलो जित हो। यसअघि पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले हारेको थियो भने दोस्रो खेलमा जनकपुरसँग ७ विकेटले हारेको थियो। लुम्बिनीको भने यो लगातार दोस्रो हार हो। यसअघि आफ्नो पहिलो खेलमा लुम्बिनी उच्च स्कोरका बाबजुत विराटनगरसँग २ विकेटले हारेको थियो। दुवै खेलमा लुम्बिनी बलिङमा चुक्दा उच्च स्कोरका बाबजुत जितविहीन रह्यो।

ओपनिङ ब्याटिङका लागि आएका दिनेश खरेल र एन्ड्रेस गौसले नै खेल समाप्त गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि १ सय ७६ रनको अविजित साझेदारी गरे। लुम्बिनीले ६ बलरको प्रयोग गरे पनि कसैले पनि विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रनको कप्तानी इनिङ्सको मद्दतमा १७० रन बनाएको थियो ।