सि.टा. समाचारदाता
सि.टा. । यस वर्षको माध्यामिक शिक्षा परिक्षा ( एसईई ) दिने तयारी कक्षा लिई रहेको बिधार्थीहरुलाई शुल्कको साठी प्रतिशत सहयोग वडाले गर्ने भएको छ । खार्पुनाथ गाउँपालिका– ५ को मान्धारा माविबाट यस वर्षको उक्त परिक्षा दिने परिक्षार्थीहरुको तयारी कक्षाको शुल्क वडाले तिर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष भरतजंग शाहीका अनुसार आगामी चैत महिनामा सञ्चालन हुन लागेको यस वर्षको एसईई तयारी कक्षाको शुल्क वडाबाट जम्मा लाग्ने शुल्कको साठी प्रतिशत वडाले तिर्ने निर्णय भएको छ । सो तयारी कक्षा पुस १० गतेबाट मान्धारा माविमा सुरु भई सकेको छ ।
मङ्गलबार बसेको वडाको बैठकले यस पालीका एसईई तयारी कक्षामा सहभागिता जनाउने सबै बिधार्थीहरुको तयारी कक्षा शुल्कमा लाग्न रकमको साठी प्रतिशत वडाले ब्यहोर्ने निर्णय भएको उनले बताए । आर्थिक अवस्था न्यून भएका र बिधार्थीमा पढाई प्रति उत्साह जोगाउन वडाले यो ब्यवस्था गरेको होे ।
वडाले सामाजिक उत्तर दायित्व अन्र्तगत यो सहयोग गर्न लागेको छ । यस वर्षको एसईई परिक्षामा उक्त विद्यालयबाट २४ जना छात्रा छात्राहरु सहभागिता जनाउदै हुनुहुन्छ । हाल विद्यालयमा ती बिधार्थीहरुले अनिवार्य अग्रेजी, गणित र बिज्ञान विषयको तयारी कक्षा लिई रहनु भएको छ ।
तयारी कक्षाका लागि प्रति बिधार्थी प्रति विषय एक हजार पाँच सयका दरले तीन महिना तीन विषयको चार हजार पाँच सय रुपियाँ शुल्क तिर्नु पर्छ । यी कक्षा दुई महिना सञ्चालन हुनेछन् । सबै बिधार्थीहरुको तीन विषयको जम्मा लाग्ने खर्चको साठी प्रतिशतले हुन आउने एक लाख २९ हजार रुपियाँ वडाले तिर्नेछ । यसअघि पनि उक्त वडाले विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको थियो ।












