सि.टा. समाचारदाता
सिमकोट । पछिल्लो समय सडक सञ्जाल जोडिएको हुम्ला जिल्लाबाट यात्रा गर्ने पैदल यात्रुहरुले सास्ती खेप्दै आउनु परेको छ । कतै सुख्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकको कारण हुम्लाबाट कालिकोटसम्म यात्रा गर्दा यात्रुहरुले सास्ती खेप्नु परि रहेको हो ।
हुम्लाको सर्केगार्ड गाउँपालिकाबाट सुर्खेतसम्मको पैदल यात्रा गर्नु भएमा यात्रु तेजबहादुर छत्यालले हुम्लाबाट कालिकोटसम्म गाडीमा यात्रा गर्दा निक्कै सास्ती खेप्नु परेको बताए । उनले सर्वप्रथम हुम्लाको खच्च खण्डमा पाँच सय मिटर सडकमा सुख्खा पहिरो खसी रहने भएको कारण सो क्षेत्रमा चार घण्टा सास्ती खेप्नु परेको बताउदै यो क्रम कालिकोटको खुलालुसम्म जारी रहेको जानकारी दिए ।
यो समास्याले गर्दा सर्केगार्डबाट खुलालाुसम्मको १३२ किलो मिटर सडकमा यात्रा गर्न २४ घण्टा समय लागेको र यो बिचमा यात्रुहरुलाई खाना पानीको समेत समस्या भोग्नु परि रहेको छ । धुलाम्मे सडकलाई ढुङ्गा बिछ्याएर यात्रा गर्नु परेको सुनाउदै उनले टिकट पाउन सजिलो भएपनि यात्रा गर्न निक्कै कठिन भई रहेको बताए ।
हाल सुर्खेतबाट हुम्लाको सर्केगार्ड र सर्केगार्डबाट सुर्खेतसम्म दैनिक एक एक वटा बस सञ्चालन हुँदै आएका छन् । अर्का सुर्खेतबाट सर्केगार्डको यात्रा गर्नु भएका यात्रु अदान कार्कीले कतै सुख्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकको कारण यात्रुहरुको यात्रा निक्कै कठिन हुने गरेको बताए ।
केही ठाउँमा सडक फराकिलो भएपनि अधिकाँस सडक एउटा बस सञ्चालनका लागि ठिक्कै भएको कारण यातायातका साधनहरुलाई ओहोर दोहोर गर्न पनि समय लाग्नाले पनि यात्रुहरुले दुःख पाई रहेका छन ।
कालिकोटको सान्नी घाट, रास्कोट, बाजुराको जगन्नाथ गाउँपालिका क्षेत्रको धुलाम्मे सडकमा यात्रायातका साधनलाई वारपार गर्न समस्या हुँदा यात्रुहरु मिलेर धुलो पन्छाउने र ढुङ्गा बिछ्याउने कार्य गरेर यात्रा गर्नु परि रहेको छ ।
यो समस्या यात्रुहरुले हुम्ला, बाजुरा र कालिकोट जिल्लाको कच्ची सडकमा भोग्नु परेको छ । यी खण्डको सडकमा नेपाली सेनाले सडक निर्माण गरेर सडक बिभागलाई बुझाएयता त्यसैका स्तरोन्नती कार्य हुन सकेको छैन ।
















