ब्यक्तिगत र ढुवानी अनुदानमा ५५ हजार केजी स्याउ जिल्ला बाहिर निकासी

फोटो क्याप्सन जिल्लामा किसानले पलाएको स्याउको बोट । तस्बिर फाईल फोटो

लोग भण्डारी
सिमकोट । हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक ५५ हजार केजी भन्दा बढी स्याउ जिल्ला बाहिर निकासी भएको छ । खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएसंगै स्याउ निकासी गर्न संभव भएको हो ।

स्याउ जोन परियोजनाले हालसम्म तीन हजार ३६६ कार्टुन र नीजि रुप्मा ५८४ कार्टुन स्याउ जिल्ला बाहिर निकासी भएको छ । एउटा कार्टुनमा १४ केजी स्याउ अट्ने गर्छ ।

यसमा परियोजनाले मात्र ४७ हजार १२४ केजी स्याउ निकासीमा पचास प्रतिशत अनुदान दिएको छ । यता नीजि रुपमा चङ्खेली गाउँपालिका– ३ का प्रकाश जैसीले ८१७६ केजी स्यउँ निकासी गरेका छन् ।

यस वर्ष परियोजनाको पचास प्रतिशत ढुवानीमा अनुदान दिएर पैदल मार्गबाट स्याउ ढुवानी गर्ने कार्य सुरु भएको हो । यसका लागि नौ खाल बजेट परियोजनाले खर्च गरेको छ ।

परियोजनाले जिल्ला दर रेट अनुसार प्रतिकेजी स्याउँमा पचास प्रतिशत अनुदान दिएका थियो । जिल्लाबाट सुर्खेत र नेपालगंजसम्म निकासी भएको स्याउँलाई ढुवानी अनुदान दिने गरिएको छ ।

त्यसैगरि स्याउका दाना प्याक गर्नका लागि पचासी प्रतिशत अनुदानमा कार्टुन पनि किसानलाई उपलब्ध गराईएको छ । जसमा एउटा कार्टुनको मुल्य किसानले पैतीस रुपियाँ तिरेका थिए । जिल्लामा उत्पादन भएको स्याउको बजारीकरणका लागि परियोजनाले ढुवानीमा अनुदानको ब्यवस्था गरेको हो ।

कच्ची सडक र गुणस्तरीय रुपमा प्याकिङ गर्न नसकिएको कारण स्याउ निकासी गर्ने किसानहरुले भने समस्या झेल्नु परि रहेको छ । हुम्लाको स्याउ पहिलो पटक हुम्लाको स्याउ काठमाडौं, पोखरा, भैरहवा, नेपालगंज मात्र नभएर भारतको दिल्लीसम्म स्थानीय ब्यापारी पुर्याएका थिए ।

त्यो बाहेक ढुवानी अनुदान र ब्यक्तिगत रुपमा पनि अन्य सात जना किसानहरुले स्याउ जिल्ला बाहिर बिक्रीका लागि लगेका छन् । किसानबाट जिल्लामा खरिद गर्नु भएको स्याउ ब्यापारीहरुले प्रतिकेजी पच्चीस रुपियाँदेखि अठ्ठाईस रुपियाँसम्म तिरेका थिए ।