सि.टा. समाचारदाता
सिमकोट । प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले (स्याउ जोन ) कार्य क्षेत्रका किसानहरुलाई पचास प्रतिशत अनुदानमा स्याउ तथा ओखरका बिरुवा बिक्री गरेको छ । यसअघि थोरै अनुदानमा बिरुवा किसानलाई बितरण गर्दै आएको परियोजनाले किसानलाई अपनत्व लिनका लागि लागत साझेदारीमा बिरुवा बिक्री गरेको हो ।
परियोजनाका निमित्त कार्यालय प्रमुख लक्ष्मी प्रसाद अधिकारीका अनुसार यस आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार परियोजना लागु भएको सिमकोट र नाम्खा गाउँपालिकाका किसानहरुलाई स्याउ र ओखरका बिरुवा पचास प्रतिशतमा बिक्री गर्ने कार्य भई रहेको बताए ।
परियोजनाले यस पटक छ हजार पाँच सय बोट स्याउ र एक हजार नौ सय बोट ओखर जुम्लाबाट खरिद गर्दै पैदल मार्गबाट ढुवानी गरेर कार्यालयमा ल्याई पुर्याएर किसानलाई बिक्री गरेको हो ।
स्याउको मुल्य प्रति बोट एक सय पाँच रुपियाँ र ओखरको मुल्य प्रति बोट छ सय रुपियाँ निर्धारण गरिएको छ सो मुल्यको पचास प्रतिशत किसानबाट लागत साझेदारी गर्दै स्याउ र ओखर बिक्री गर्ने कार्य भई रहेको छ ।
उत्पादनशील कार्यक्रमका लागि परियोजनाले किसानहरुलाई पचास प्रतिशत अनुदान दिने नियम अनुसार बिरुवा बिक्री गरिएको हो । अर्को कुरा बिरुवा प्रति अपनत्व बढाउनका लागि परियोजनाले बिरुवामा लागत साझेदारीको ब्यवस्था गरेको हो । यस वर्ष २५ हेक्टरमा स्याउ र बीस हेक्टमा ओखरका बिरुवा लगाईने छ ।
स्याउका बिरुवा लिनका लागि २५ जना किसानका फर्म र ओखरमा २३ जना किसानहरुका फर्म सुचिकृत परियोजनासंग भएका छन् । फाट्टफुट्ट बिरुवा लगाउनेलाई पनि दुई चार बोट दिने गरिएको छ । किसानहरुले खाल्डो खनेर तयार पारेपछि बिरुवा दिने गरिएको छ ।
खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म राष्ट्रिय सडक सञ्जालसंग जोडिएको कारण पहिलो पटक माघ महिनाको सुरु मै बिरुवा जिल्लामा पुर्याएर बिक्री गर्न परियोजना सफल भएको हो । यसअघि हवाई मार्गबाट महङ्गो ढुवानी भाडा तिरेर बिरुवा ल्याउने गरिन्थ्यो ।












