सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा चिनीयाँ सरकारकोतर्फबाट पक्की मितेरी पुलको निर्माण कार्य सुरु भएको आठ महिनामा सम्पन्न गरेको छ ।
चीन सरकारको आर्थिक सहयोगमा सो पक्की पुलको निर्माण कार्य पुरा भएको हो । सडक बिभागको तर्फबाट सो पुलको निर्माण कार्यमा सहजिकरण र अनुगमन गर्ने जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजनाले हिल्सामा दुई देशबिचको मितेरी पुलको निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।
उक्त पुलको निर्माण कार्य एक वर्षमा सम्पन्न गर्ने गरि गत असारमा चिनीयाँ पक्षले निर्माण कार्य सुरु गरेको थियो । त्यसयता चिनीयाँ पक्षले रात दिन गरि तीन सिफ्टमा पुल निर्माणको काम गरेको कारण पक्की पुलको निर्माण कार्य छोटो समयमा सम्पन्न भएको होे ।
आयोजनाबाट पुल निर्माण अवधिमा चार पटक अनुगमन गर्ने कार्य प्राविधिकबाट गरिएको थियो । पक्की मितेरी पुलको आठ महिनामा चिनीयाँ पक्षले निर्माण कार्य सम्पन्न गरेको भएपनि सञ्चालनमा भने आएको छैन् ।
हाल चिनीयाँ पक्षले नेपालतर्फको एप्रोज सडक निर्माण कार्य गरि रहेको छ । नेपालतर्फको पुलेको छेउबाट दुई सय मिटर सडक चीन सरकारले निर्माण गर्नुपर्ने सम्झौता अनुसार हाल डिजाईन अनुसार नेपाली भुभागमा शौचालय, हेलिप्याड लगाएतका संरचना भएको कारण सो सडक निर्माण भने हुन सकेको छैन ।
चिनीयाँ पक्षले ती संरचना खाली गर्न आग्रह गरिएको भएपनि त्यो हुन नसकेको कारण सडक निर्माण हुन नसकेको हो । अहिलेको डिजाईन अनुसार पुलबाट सडक निर्माण गर्दा हिल्सामा नेपाली सार्वजनिक संरचना र ब्यक्तिगत भौतिक संरचना भत्काउनु पर्ने भएको कारण त्यसको डिजाईन परिवर्तनका लागि जिल्लामा सर्वपक्षीय वैठकले अनुरोध समेत गरेको गरेको थियोे ।
१४६ मिटर लम्बाई रहेको सो मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर जमिन माथि निर्माण गरिएको छ । पुल निर्माणको सवै कार्य पुरा भएको छ । यो काम सवै सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याउन सहमति गरिने छ ।












