
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको सिमकोट हिल्सा सडकमा ग्राभेल गर्ने कार्य धमाधम भई रहेको छ । सडकको स्तरोन्नतीको कार्य सम्पन्न भएपछि हाल सडकमा ग्राभेल गर्ने कार्य भई रहेको हो ।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेल बहादुर नेपालीले सिमकोट हिल्सा सडकको तीन स्थान चार स्थान मध्य एउटा खण्डको सडकमा ग्राभेल गर्ने कार्यले तिब्रता पाएको बताउनुभयो । सिमकोट हिल्सा सडक सडक ९५ किलो मिटर लम्बाई रहेको छ ।
उनले स्तरोन्नतीको कार्य सम्पन्न भएपछि यतिबेला सडकमा ग्राभेल बिच्छ्याएर रोलर लगाउने कार्यले गति लिएको बताए । हाल ग्राभेल भई रहेको सिमकोट हिल्सा सडकको खण्डमा ताग्रु हेक्पा खोलादेखि हेक्पा खोला खण्डको सडक रहेको छ । यो खण्डको दश किलो मिटर सडकमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पुगेका छ ।
यसअघि सडक चौढा गर्ने, ग्याविन लगाउने, पल्म गाह्रो लगाउने कार्य सम्पन्न भएपछि सडकमा ग्राभेल भर्ने कार्य भई रहेको छ । आठ मिटर चौडा सडकमा बीस सेन्टिमिटर बाक्लो ग्राभेल भर्ने र त्यसमा रोलर चलाउने कार्य भएको उहाँले बताउनुभयो । उक्त खण्डको सडकमा नाला भने निर्माण गरिएको छैन ।
हाल ग्राभेल भर्ने कार्य भएको सडकमा पानी हाल्नु पर्ने तर पानी टाढा भएको कारण टाढाबाट पानीको ब्यवस्था गर्नु परि रहेको छ । एक वर्ष अगाडी उक्त खण्डको सडक निर्माणका लागि दाप्चा आरएन जेभीले आयोजनासंग सम्झौता गरेको थियो । निर्माण कम्पनीले समय मै काम सम्पन्न गरेकोले अब अन्तिम भुक्तानीका लागि तयारी भई रहेको छ ।
निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सरोज रावतले निर्माण जिम्मा पाएको सडक मध्य धारापोरीको ठाडा ढुङ्गामा गत असोजमा सुख्खा पहिरो खसेर एक महिना काममा बाधा पुर्याएको भएपनि समय मै काम सम्पन्न हुने बताए ।
निर्माण भएको सडकमा ग्राभेल भरेपछि सडकको स्वरुप नै फरक देखिन थालेको छ भने यातायात साधन पनि सहज रुपमा गुड्न थालेका छन् । यसका लागि आयोजनाले पाँच करोड ९८ लाख दश हजार ५०७ रुपियाँ लागत लाग्ने गरि सम्झौता गरेको थियो ।
यता आगामी असारसम्म सिमकोट हिल्सा सडक कै ताग्रु खोला देखि याल्वाङ चौर र याल्वाङदेखि इलिङसम्मको सडकलाई पनि ग्राभेल गर्नुपर्ने छ । ती दुई खण्डको सडकमा सडक चौडा गर्ने, ग्याविन लगाउने, नाला निर्माण र प्लम्प गाह्रो लगाउने कार्य धमाधम भई रहेको छ । यसको लम्बाई साँढे २६ किलो मिटर रहेको छ ।











