हुम्लामा पाठ्य पुस्तक पुग्न सुरु

लोग भण्डारी
सिमकोट । हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्य पुस्तक पुग्न सुरु भएको छ । पाठ्य पुस्तक समय मै छापिएको कारण ढुवानीको जिम्मा पाएका सप्लायर्सहरुले नयाँ शैक्षिक सत्र सुरु हुनु अगाडी सम्वन्धित गाउँपालिकामा ढुवानी गरेर पुर्याउन थालेका हुन।

सिमकोट र नाम्खा गाउँपालिकाका ३५ वटा सामुदायीक विद्यालयका लागि पुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा एक हप्ता अगाडी नै पाठ्य पुस्तक सदरमुकाम सिमकोटमा पुर्याएर बिक्री सुरु गरिएको बताए ।

नीजि र जनक शिक्षा सामाग्री केन्द्रको सुर्खेत शाखाबाट पाठ्य पुस्तक खरिद गर्दै उनले ढुवानी गरेका हुन । रोकायाले यी दुई गाउँपालिकाका लागि कक्षा एक, दुई र चारका लागि एक हजार ५५ सेट पुस्तक जिल्लामा ढुवानी गरेर ल्याई पुर्याएका छन् भने कक्षा ३, ५, ६, ७, ८, ९, १० , ११ र १२ का लागि एक हजार ९६० सेट पुस्तक ढुवानि  गरेर ल्याएका छन् ।

यी दुई गाउँपालिकाका सवै बिधार्थीहरुका लागि दश हजार थान पाठ्य पुस्तक आई पुगेका छन् । त्यस मध्य नाम्खा र सिमकोट गाउँपालिकाका छ वटा विद्यालयले पुस्तक लिई सकेका छन्
यता खार्पुनाथ गाउँपालिकाका १७ वटा विद्यालयहरुका लागि पुस्तक ढुवानीको जिम्मा लिएको सुमन पुस्तक पसलले पनि केन्द्रको नेपालगंज शाखाबाट पाठ्य पुस्तक ढुवानीका लागि सम्पर्कमा आएको र शुक्रबार पुस्तक जिम्मा लिने जनक शिक्षा सामाग्री केन्द्र नेपालगंजका प्रमुख हेमराज ढुङ्गेलले बताए ।

पुस्तक बुझे लगत्तै तीन दिनमा गाउँपालिका केन्द्रमा पुर्याउने तयारी गरिएको छ । उनले हिमाली जिल्ला हुम्ला डोल्पाका लागि पुस्तक बिक्री कार्य सुरु भएको बताए । यता सर्केगाड गाउँपालिकाका विद्यालयहरुका लागि पुस्तक खरिद र ढुवानीको जिम्मा लिएको ज्ञानु बुक्स एण्ड स्टेस्नरीका प्रतिनिधि मानदेव शाहीले पुस्तक खरिदका लागि केन्द्रसंग समन्वय भई रहेको र फागुन १० गतेभित्र पुस्तक गाउँपालिकामा पुर्याउने तयारी भई रहेको बताए । सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय रहेका छन् ।

त्यस्तै चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाकाका ५७ वटा विद्यालयका लागि पनि पाठ्य पुस्तक खरिद गरेर गाउँपालिकामा पुर्याउने तयारी भई रहेको छ । शिक्षा बिकास तथा समन्वय एकाईका प्रमुख योगेश आलेमगरले हुम्ला जिल्लामा १४१ वटा विद्यालयहरुमा २० हजार ३९० बिधार्थीहरु अध्ययन गर्दै आएकोले यसवर्ष नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा अगाडी पुस्तक जिल्लामा पुग्न सुरु भएको बताए । यस पटक समय मै पाठ्य पुस्तक बिधार्थीहरुका हात पर्ने र बिगतको भोगेको समस्या नदोहोरिने अवस्था देखिएको छ ।