सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा ब्यक्तिगत र सार्वजनिक धाराबाट खानेपानीको प्रयोग गर्ने घरधुरी संख्या बृद्धि भई रहेको छ । खानेपानी सम्वन्धि काम गर्ने आधा दर्जन सरकारी तथा गैर सरकारी निकायहरुले वर्षेनी खानेपानी योजना निर्माण गरेर सञ्चालनमा आएपछि हुम्लावासी स्वच्छ पानीको पहुँच बृद्धि हुँदै गएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल घरधुरी सङ्ख्या मध्य हालसम्म ८८ दशमलव १८ प्रतिशत हुम्लावासीका घरधुरी स्वच्छ खानेपानीको पहुँमा रहेको खानेपानी, सिंचाई तथा उर्जा बिकास कार्यालयले जनाएको छ । यो विवरणमा ६३ दशमलव ८८ प्रतिशत हुम्लावासीका घरधुरी सार्वजनिक खानेपानीका धाराबाट पानी उपभोग गरि रहनु भएको छ भने चौबीस दशमलव तीस प्रतिशत हुम्लावासीका घरधुरी ब्यक्तिगत धारा निर्माण गरेर स्वच्छ खानेपानी उपभोग गरि रहेका छन ।
आर्थिक वर्ष ०८०।०८१ सम्म जिल्लाको कुल घरधुरी सङ्ख्या एघार हजार २०४ रहेको छ । त्यसमा दुई हजार ७२३ घरधुरी ब्यक्तिगत धाराको पानी प्रयोग गरि रहेका छन् भने सात हजार १५७ घरधुरी सार्वजनिक धाराको पानी उपभोग गरि रहेका छन् । ब्यक्तिगत र सार्वजनिक धाराबाट स्वच्छ खानेपानी उपभोग गर्ने घरधुरी सङ्ख्या नौ हजार ८८० रहेको छ ।
बिगत तीन वर्षयता जिल्लामा स्वच्छ खानेपानीको उपभोग गर्ने घरधुरी बृद्धि भई रहेको समेत छन् । जनगणना अनुसार हुम्ला जिल्लाको कुन जनसङ्ख्या ५५ हजार ३९४ रहेको छ । चालु आर्थिक वर्षमा जिल्लाभर २८ वटा खानेपानी योजनाहरु निर्माणधिन रहेको कारण असारसम्म ती योजनाको निर्माण कार्य सम्पन्न हुने र अझै जिल्लाको स्वच्छ खानेपानीको उपभोग गर्ने घरधुरी सङ्ख्या बृद्धि हुने देखिएको छ ।
यसरी स्वच्छ खानेपानीको उपभोग गर्ने घरधुरी बृद्धि हुनुमा खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु बढी भएको कारण त्यो संभव भएको अदानचुली गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । हाल जिल्लामा खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्ने संङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सुसा, गुडनेवर्स इन्टरनेस्नल नेपाल लगाएतका संस्थाहरुले काम गरि रहेको कारण स्वच्छ खानेपानी प्रयोग गर्ने घरधुरी बृद्धि भएको हो ।
















