सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको नाम्खाँ गाउँपालिकामा ९६ प्रतिशत साक्षर भएपछि सो गाउँपालिका साक्षर गाउँपालिका घोषित भएको छ । साक्षर घोषित हुनका लागि निर्धारित सुचक पुरा गर्दा गाउँपालिका केन्द्र याल्वाङमा एक कार्यक्रमको आयोजना गरि घोषित गरिएको हो ।

नाम्खा गाउँपालिकाका छ वटै वडाहरु साक्षर घोषित भएपछि गाउँपालिकालाई पनि साक्षर घोषणा गर्ने कार्य भएको गाउँपालिका यपाअध्यक्ष तकदिर लामाले बताए । यसका लागि निर्धारित बाह्र वटा सुचकहरु पुरा गरेर ९६ दशमलव १६ प्रतिशत अङ्क प्राप्त गर्दा साक्षर गाउँपालिका घोषणा गरिएको होे ।
गाउँपालिका भित्रका निरक्षर जनसङ्ख्यालाई साक्षर बनाउनका लागि वस्ती स्तरमा साक्षरण अभियान सञ्चालन गरेको परिणाम यो फल प्राप्त भएको उहाँले बताउनुभयो । साक्षर घोषणा गर्ने कार्यक्रम अध्यक्ष प्रेम बहादुर लामाले गर्दै अब अझै केही जनसङ्ख्या निरक्षर रहेको कारण त्यो सङ्ख्यालाई पनि साक्षर बनाउन आवश्यक रहेको बताए ।
गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख मनराज बुढाले साक्षर गाउँपालिका घोषणाका लागि गाउँपालिका भित्र बसोवास गर्ने पन्द्रदेखि ५९ वर्ष उमेर समुहका कुल दुई हजार ८८९ जनसङ्ख्या मध्य दुई हजार ७७८ जनसङ्ख्या साक्षर भएको कारण निर्धारिता लक्ष्य भन्दाबढी प्रतिशत जनसङख्या साक्षर हुँदा यो कार्यक्रम संभव भएको बताए ।
यसअघि २०८१ साल साउन २१ गतेबाट भदौ १७ गतेसम्म गाउँपालिकाका सवै वडाहरु साक्षर घोषित भएका थिए । नाम्खा गाउँपालिकामा अझै छ वटै वडामा गरि १११ जना जनसङख्या निरक्षर रहेको छ । शिक्षा बिकास तथा समन्वय एकाई प्रमुख योगेश आलेमगर नाम्खा गाउँपालिका साक्षर घोषित भएपछि जिल्लाका सात वटै गाउँपालिका साक्षर घोषित भएको जानकारी दिए ।
उक्त कार्यक्रममा विद्यालयका बिधार्थीहरुले बिभिन्न साँस्कृतिक नृत्यहरु पनि प्रस्तुत गर्नु भएको थियो । साक्षर गाउँपालिका घोषणाका लागि योगदान पुर्याउने बिभिन्न ब्यक्ति तथा संस्थाहरुलाई कदर प्रत्र पनि प्रदान गरिएको थियो । अब औपचारिक रुपमा हुम्ला जिल्लालाई चाँडै साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रमको तयारी गरिने उनले बताए । जिल्लामा सिमकोट गाउँपालिको पहिलो साक्षार घोषित भएको थियो भने त्यसअघि अन्य पाँच वटा गाउँपालिका साक्षर घोषित भएका थिए ।
















