सि.टा. समाचारदाता
सिमकोट । बेलिब्रीज निर्माण गरेको भुक्तानी नपाउने भएपछि एक वर्षदेखि बेलिब्रीज निर्माण कार्य अधुरो रहेको छ । हुम्ला जिल्लाको सर्केगार्ड, अदानचुली गउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकालाई जोड्ने तुम्चको कर्णाली नदी माथि निर्माण कार्य अन्तिम चरण पुगेको सो बेलिब्रीजको भुक्तानी नपाए कै कारण रोकिएको हो ।
उक्त पुल निर्माणको जिम्मा पाएको रबिचन्द्र जेभीका प्रतिनिधि बसन्त थापाले एक वर्ष अगाडी निर्माण कार्य सम्पन्न हुने दुई जिल्ला मुगु र हुम्ला जोड्ने कर्णाली नदी माथिको बेलिब्रीजको काम अधुरो राखिएको बताए । गत बर्ष असारमा सम्पन्न गर्ने गरि उक्त पुलको निर्माण कार्य सुरु भएको थियो ।
सो पुल मुगु जिल्लाको पुर्वाधर बिकस कार्यालय र सोरु गाउँपालिकाको लागत साझेदारीमा निर्माण कार्य सुरु भएको थियो । तर सोरु गाउपालिकाले लागत ब्यहोर्ने एक करोड तीस लाख रुपियाँ नदिने भएपछि नब्बे प्रतिशत काम सम्पन्न गरेको भएपनि बाँकी काम जानी जानी भुक्तानी नपाएकै कारण सम्पन्न नगरिएको हो ।
पुलको मुगुपट्टी सबै स्टिल पार्टको जडान कार्य सम्पन्न भएको छ । तर हुम्लापट्टी भने थोरी स्टिल पार्ट जडान गर्न बाँकी राखिएको छ । जडानका लागि सामान भएपनि त्यति कै खाली राखिएको छ । सम्झौता अनुसार काम पनि गराउन लगाउने तर बजेटको ब्यवस्था गर्न नसक्ने भएपछि बेलिब्रीजको थोरै काम बाँकी राखेर काम रोकेको होे ।
साठी मिटर लम्वाई रहेको सो बेलिब्रीजका लागि त्रिपक्षीय सम्झौता अनुसार चार करोड ९६ लाख रुपियाँ लागत लाग्ने गरि सम्झौता भएको थियो । त्यस मध्य तीन करोड ६६ लाख रुपियाँ पुर्वाधार बिकास कार्यालयबाट निर्माण कम्पनीले गत वर्ष नै भुक्तानी लिई सकेको थियो ।
गाउँपालिकाबाट भुक्तानी आउने निश्चित भएपछि एक दिन मै पुलको बाँकी निर्माण कार्य पुरा गर्न सकिने निर्माण् कम्पनीले जनाएको छ । पुलको मुगु र हुम्ला दुवैतर्फ सडक निर्माण कार्य सम्पन्न भई सकेको छ । सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले यस आवमा बाँकी बजेटको ब्यवस्था गरेर निर्माण कम्पनीलाई दिने तयारी भई रहेको बताए ।
कर्णाली करिडोरको हुम्ला जिल्लाको तुम्चबाट मुगुको सोरु गाउँपालिका जोड्नका लागि नजिक पर्ने भएको कारण नदीमा बेलिब्रीज निर्माण कार्य भएको हो । सोरुवासीलई गमगढी भएर जान लामो सडक पार गर्नु पर्ने तर हुम्लाको तुम्च भएर सुर्खेत नेपालगंज जान नजिक पर्ने भएको कारण प्रदेश सरकारसंगको निक्कै लामो प्रयासपछि बेलिब्रीज निर्माणका लागि बजेटको ब्यवस्था गरिएको हो ।
केही दिन अगाडी बेलिब्रीजको थोरै भाग जडान गर्न बाँकी रहेको कारण मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे सहितको बीस जनाको टोलीले उक्त अधुरो पुलको जडान बाँकी रहेको भागमा बिधुतका पाईप बिच्छ्याएर चार वटा गाडी हुम्लातर्फ सवार भएका थिए ।











