सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका– १ को बोक्चे र भिगौडाको सडक सुचारु हुने भएको छ । कडा चट्टानी र अग्लो भीरलाई बिष्फोट गरेर सेनाले सडकको स्तरोन्नती गर्ने कार्य अन्तिम चरणमा पुगेको र अब एक दुई दिनमा सञ्चालनमा आउन लागेको हो ।
असजिलो र सडकको ग्रेड नमिलेको बोक्चे र भिगौडाको सडकको स्तरोन्नती गर्ने कार्य पुरा हुनै लागेको नेपाली सेना सो खण्डको सडक निर्माण कार्य दलका प्रमुख अम्रित पराजुलीले बताए । उनले यी दुवै गौडामा बिष्फोट गर्ने कार्य गरेर सडक निर्माण गरिएको बताए ।
केही स्थानमा बीस मिटर अग्लो चट्टानलाई बिष्फोट गरेर सडकलाई तल झारिएको बताउदै सेनाले रात दिन बिष्फोट गर्ने र सडक मिलाउने कार्य गरेर होे । चट्टानी भीरमा छ देखि आठ मिटर सडक चौढा निर्माण गरिएको छ ।
चट्टानी सडकमा ग्रेड मिलाउने कार्य भएपछि यातायातका साधनहरुलाई सहज हुनेछ । यी दुई वटा गौडाबिचको दुई सय मिटर सडकको चट्टान बिष्फोट गर्ने र ग्रेड मिलाउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । यसअघि निर्माण कम्पनीले सो खण्डमा सडकको ग्रेड नमिलाएर कच्ची सडकको ट्रयाक खोल्ने कार्य गरेको थियो ।
सडकको यो अबस्था देखेर हुम्लावासीले उक्त सडकलाई स्तरोन्नतीको कार्य गर्नका लागि सेनालाई दिन आग्रह गर्नु भएको थियो । यो मागलाई सम्बोधन गर्दै सरकारले गत पुस १७ गतेको मन्त्री परिषद वैठकबाट निर्णय गरेर उक्त गौडाको सडकको स्तरोन्नती गर्ने कार्य नेपाली सेनाको बिकास निर्माण दललाई दिने निर्णय गरेको थियो ।
सोही अनुसार सेनाले गत चैत २५ गतेबाट काम सुरु गरेको थियो । यसअघि भिगौडाबाट याङ्चु कुनासम्मको छ सय मिटर सडकको पनि स्तरोन्नती गर्ने कार्य यो अवधिमा गरेको हो । असजिला गौडाको सडकको स्तरोन्नती भएपछि अब सधैका लागि सडक सहज भएको खार्पुनाथ गाउँपालिका– १ का वडा अध्यक्ष जयबहादुर शाहीले बताउनुभयो ।
उहाँले यी गौडाको सडकको स्तरोन्नती गर्ने कार्य पुरा भएपछि बन्द गरिएको सडक पनि सुचारु भएको बताउनुभयो । निर्माण कार्य भई सकेको कारण सेनाले यातायात सेवा बन्द गरेको थियो । यो संगै सेनाले खार्पुको दोजाम कर्णाली नदी माथि निर्माण गरेको बेलिब्रीको असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन भएर सञ्चालनमा आएको थियो ।























