असजिलो च्याछरा खण्डको सडकमा आठ मिटर चौढा सडक निर्माण

फोटो क्याप्सन सिमकोट हिल्सा सडकको च्याछरा खण्डको कडा चट्टानी असजिलो भीर बिष्फोट गर्ने कार्य पछिको सडक । तस्बिरः सि.टा.

सि.टा समाचारदाता
हुम्ला । हिल्सा सिमकोट सडक खण्डको सबै भन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडक आठ मिटर चौढा निर्माण गरिएको छ । सडकका लागि आवश्यक पर्ने चट्टान बिष्फोट गरेर सडकलाई चौढा पारिएको हो ।

बिष्फोट गर्ने कार्य सम्पन्न भएको, मेशिनले ढुङ्गा फुटाउने र सडकको ग्रेड मिलाउन कार्य भई रहेको कारण निर्माण कार्य अन्तिम अवस्था रहेको हो । निक्कै असजिलो चट्टानी क्षेत्रका रुपमा परिचित च्याछरा सडकको स्तरोन्नती गर्ने कार्य अन्तिम चरणमा पुगेको सो कामको जिम्मा पाएको ओसिस ईन्जिनीयरिङ एण्ड ब्वील्डर प्रालिका प्रतिनिधि हरि बोगटीले बताए ।

सिमकोटबाट हिल्सातर्फ जाने च्याछराको कडा चट्टानी क्षेत्रको काम सम्पन्न भएको र अब हिल्साबाट सिमकोटतर्फ आउने थोरै चट्टानी क्षेत्रको स्काभेटरको बकेटले ढुङ्गा फुटाउने काम भई रहेको छ । अब केही दिनमा त्यो भीर पनि मेशिनबाट फुटाएर सडकको रुप दिने र त्यसलाई सम्याउने र चौढा पार्ने कार्य पनि तत्काल गरिने भएको छ ।

च्याछराको सबै भन्दा चट्टानी असजिलो स्थानमा साँढे आठ मिटर चौढा सडक निर्माण गरिएको, भीर क्षेत्रको दक्षिणतर्फ सिमेन्टेट रिटर्निङ वाल पनि लगाउने कार्य सम्पन्न भएपछि राजमार्गको सडकको स्वरुपमा सडक आएको छ । अब केही दिनमा सडकको स्तरोन्नती गर्ने कार्य पुरा हुने र त्यस लगत्तै सो सडकमा ढलान गर्ने कार्य गरिने छ ।

अब बाँकी जिम्माको काम सम्पुर्ण रुपमा निर्धारित मितिमा सम्पन्न गरिने छ । सो क्षेत्रमा अव सडकको रुपमा निर्माण भई रहेको र दुवैतिर गरि ५७० मिटर चट्टानमा सडकको स्तरोन्नती कार्य अन्तिम चरणमा पुगेको हिल्सा सिमकोट सडक योजनाले जनाएको छ ।

मुख्य सडक भएको कारण दैनिक काम रोकेर यातायात पनि सुचारु गर्नुपर्ने भएको कारण निर्माण कार्यमा ढिलाई भई रहेको बताउदै समग्रमा सडकको निर्माण कार्य सन्तोसजनक रहेको योजनाले उल्लेख गरेको हो । उक्त सडक स्तरोन्नती कार्यका लागि २०७९ सालको चैत १४ गते निर्माण कम्पनीसंग सम्झौता भएको थियो भने यो काम २०८२ साल चैत १३ गतेभित्र सम्पन्न गर्नु पर्नेछ ।

कुल लागत ३४ करोड ६५ लाख ८१ हजार १७९ रुपियाँ रहेकोमा हालसम्म २२ करोड छ लाख ६६ हजार सत्तरी रुपियाँ भुक्तानी भएर त्रिसट्टी दशमलव पचास प्रतिशत  प्रगति समेत भएको छ ।

च्याछराबाट आकी कान्नसम्मको सोह्र दशमलव सात किलो मिटर सडकको स्तरोन्नती कार्य असी प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो । असार पन्द्रपछि पनि धेरै काम भई सकेको कारण भौतिक प्रगति अझै बृद्धि हुने देखिएको छ । अब निर्माण कम्पनीले नौ महिना सिङ्गै काम गर्न बाँकी रहेको छ ।