सि.टा.समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका ५९ महिनासम्मका बालबालिकासहित खोप लगाउन छुटेका तथा खोप नलगाएका एक लाखभन्दा बढी बालबालिकाले खोप लगाइएको छ । यसरी बालबालिकालाई खोप लगाईएपछि कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।
अब कर्णालीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।
कर्णाली प्रदेशका १५ महिनासम्मका ३१ हजार २४३ जना, १६ महिनादेखि ५९ महिनासम्मका ७० हजार ५४९ जना, शून्य डोजका १५ महिनासम्मका आठ जना, १५ महिनासम्मका खोप लगाउन छुटेका १९२ जनाले खोप लगाएका छन् । १६ महिनादेखि ५९ महिनासम्मका शून्य डोजका १८ जना र १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका ५८६ जना गरी कुल एक लाख दुई हजार ५९६ जना बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।
स्वास्थ्य सेवा निर्देशनालयले नियमित खोप लगाउनेका साथै खोपै नलगाएका र खोप लगाउन छुटेका बालबालिकासमेत खोपको पहुँचमा आएको जनाएको छ । कर्णालीमा शून्य डोज र खोप छुटेका ८०४ जना नयाँ बालबालिका पनि खोपको सम्पर्कमा आउन सफल भएको हो । एक वर्षभित्र घर घरमा खोजी गरेपछि ती सङ्ख्या फेला पारी उनीहरूलाई पनि सबै खोप लगाइएको हो ।
कर्णालीमा सबैभन्दा धेरै खोप छुट भएका १७५ जना, रुकुममा १०५ जना रहेको र हुम्ला, जुम्ला, मुगु, जाजरकोट र डोल्पामा शून्य डोजका बालबालिका देखिएका छैनन् । कर्णालीमा सबैभन्दा पहिला सल्यान जिल्ला गत असार १९ गते र सबैभन्दा पछि डोल्पा असार ३० गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका थिए । प्रदेशका सबै जिल्लाका १३ प्रकारका खोप पाउनुपर्ने सबै बालबालिकाले खोप पाएको दाबी निर्देशनालयको छ । सन् २००१ मा कर्णालीमा खोप पूर्णता ६५.६ प्रतिशत रहेकोमा सन् २०२५ मा ८४ प्रतिशत पुगेको, सन् १९९० मा बालमृत्यु दर प्रतिहजारमा १३८ जना रहेकोमा सन् २०२० मा २८.२ प्रतिशतमा झरेको छ ।























