स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने

सि.टा. समाचारदाता

सिमकोट ।         स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाको पूर्व स्वीकृति बिना कुनै पनि प्रकारको फोटो वा भिडियो नखिच्न नखिचाउन आग्रह गरेको हो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ मा अनुमति बिना कसैको तस्बिर खिच्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले स्वास्थ्य संस्था परिसरमा सम्बन्धित निकायको स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेको हो ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय केही व्यक्तिले अस्पताल परिसरमा स्वीकृति बिना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो–भिडियो खिच्ने, अन्तर्वार्ताका नाममा भिडभाड गर्ने र उपचारमा संलग्न चिकित्सक तथा कर्मचारीको कार्यसम्पादनमा अवरोध पु¥याउने गुनासा आएकोले मन्त्रालयले यस्तो आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै संवेदनशील क्षेत्रमा अशान्ति फैलिन गई उपचार प्रक्रियामा गम्भीर असर पर्ने मन्त्रालयको ठहर छ । अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हुने हातपात, तोडफोड तथा अन्य कानुनविपरीत गतिविधि नगर्न नगराउन मन्त्रालयले आग्रह गरेको छ ।

विज्ञप्‍ति अनुसार अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, चिकित्सक तथा कर्मचारीलाई अमर्यादित व्यवहार गर्ने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको उल्लङ्घन हो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ले उपचारमा बाधा पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ भने उक्त ऐनको दफा ३ अनुसार स्वास्थ्यकर्मीमाथि हातपात, धम्की वा अपमानजनक व्यवहार गर्न निषेध गरिएको छ ।

कानुन विपरीतका यस्ता कार्य गरे र गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने जनाउँदै मन्त्रालयले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई समेत आवश्यक निर्देशन दिइसकेको जनाएको छ ।

साथै उपचारका क्रममा कुनै कमजोरी भएको महसुस भएमा सम्बन्धित निकायमा उजुरी दिई तथ्यपरक छानबिनमार्फत समाधान गर्ने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।