किशोर किशोरी मैत्री अस्पताल बनाउन अभिमुखीकरण

सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पताललाई किशोर किशोरी मैत्री बनाउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नयाँ निर्देशिका अनुसार किशोर किशोरी मैत्री उपचार सेवा प्रदान गर्नु पर्ने भएको कारण सरोकारवाला पक्षलाई अभिमुखीकरण गरिएको हो ।

स्वास्थ्य सेवा सहज र सरल किसिमले किशोर किशोरीहरुलाई प्रदान गर्न यो कार्यक्रम लागु हुने र त्यसअघि अस्पताल ब्यवस्थापन समिति, विद्यालयका शिक्षक, किशोर किशोरी , ब्यवसायी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको सहभागीतामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीले बताए ।

कार्यक्रममा निर्देशिका बारे जानकारी गरिएको थियो । सो कार्य गर्नै पर्ने कार्यमा पर्ने भएकोले आयोजना गरिएको हो । यो कार्यक्रम आगामी २०८३ सालको वैशाख महिनाबाट जिल्ला अस्पतालमा लागु हुनेछ । कार्यक्रममा कायाृलयका तत्थ्याक सहायक दुर्गा बहादुर श्रेष्ठले सहजिकरण गरेका थिए ।

यसका लागि किशोर किशोरीहरुका लागि एउटा छुट्टै उपचार कक्षाको ब्यवस्था गरिने र त्यहीबाट अस्पतालमा आउने बिरामी किशोर किशोरीको गोपनियता भंग नहुने किसिमले चेकजाँच गरिने छ । त्यसपछि सबै किसिमका किशोर किशोरीको उपचार निशुल्क रुपमा गरिने छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सरिता रावत, उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, बालमन्दिर माविका शिक्षक मधु बस्नेत शाही, बिधार्थी, चिकीत्सक र स्वास्थ्यकर्मी उपस्थिती रहेको थियो ।