सिमकोट । नेपाल टेलिकम ले बुधबार रातिदेखि केही समयका लागि एसएमएस सेवा प्रभावित हुनसक्ने जनाएको छ। कम्पनीले आफ्नो एसएमएस सी (SMSC) प्रणालीमा भर्सन अपग्रेड तथा प्राविधिक स्तरोन्नतिको काम गर्न लागिएको जानकारी दिँदै सेवा अस्थायी रूपमा अवरुद्ध हुनसक्ने जनाएको हो।
टेलिकमद्वारा जारी सूचनाअनुसार बुधबार राति १० बजेदेखि बिहीबार बिहान ४ बजेसम्म एसएमएस सेवा पूर्ण वा आंशिक रूपमा प्रभावित हुन सक्नेछ। यस अवधिमा मोबाइल प्रयोगकर्ताले एसएमएस पठाउन तथा प्राप्त गर्न समस्या भोग्न सक्ने जनाइएको छ।
कम्पनीले सेवा प्रणालीलाई अझ सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक प्राविधिक सुधारको काम गरिन लागिएको स्पष्ट पारेको छ।
सेवा अवरुद्ध हुनसक्ने अवस्थाबाट ग्राहकलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै टेलिकमले निर्धारित समयभित्रै काम सम्पन्न गरी सेवा नियमित गरिने जनाएको छ।
नेपालभरका लाखौँ सेवाग्राहीले प्रयोग गर्दै आएको एसएमएस सेवा केही घण्टा प्रभावित हुनसक्ने भएकाले आवश्यक सूचना आदानप्रदानका लागि वैकल्पिक माध्यम प्रयोग गर्न पनि टेलिकमले आग्रह गरेको छ।
























