
सि.टा .समाचारदाता
हुम्ला । सिमकोट गाउँपालिका–७ स्थित कर्णाली माध्यमिक विद्यालय चौगानफयामा शिक्षक दरबन्दी र प्लस टुका कक्षा कटौती गरिएको विरोधमा विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिकाले वैशाख २३ गते गरेको निर्णयअनुसार विद्यालयको नेपाली विषयको दरबन्दी कटौती गरी अर्को विद्यालयमा पदस्थापन गरेपछि स्थानीय असन्तुष्ट बनेका हुन् । विरोधस्वरूप विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गर्नुका साथै सदरमुकाम सिमकोट पुगेर गाउँपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज शाहीका अनुसार माग पूरा नभएसम्म विद्यालयको ताला नखोलिने चेतावनी दिइएको छ । आन्दोलनमा करिब १ सय ५० विद्यार्थी र ५० भन्दा बढी अभिभावक सहभागी भएका थिए ।
कक्षा १० मा अध्ययनरत छात्रा सम्झना शाहीले तीन घण्टा पैदल हिँडेर गाउँपालिका पुगेको बताउँदै विद्यालय कमजोर बनाउने निर्णय फिर्ता लिन माग गरिन् । स्थानीयहरूले विद्यार्थी संख्या पर्याप्त हुँदाहुँदै दरबन्दी कटौती गर्नु अन्यायपूर्ण भएको बताएका छन् ।
यता गाउँपालिका अध्यक्ष विजय भण्डारी ले शिक्षक दरबन्दी मिलान प्रक्रियाअन्तर्गत निर्णय गरिएको स्पष्ट पार्दै आगामी तीन दिनभित्र कार्यपालिका बैठक बसेर विषयमा पुनः छलफल गरिने बताएका छन् ।
यसैबीच सिमकोट गाउँपालिका–२ को रामदेव मावि र वडा नं. ३ को रलिङ माविमा समेत शिक्षक दरबन्दी कटौतीको विरोध सुरु भएको जनाइएको छ ।























