सि.टा. समाचारदाता
सिमकोट । सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सङ्ख्या घट्दै गएको र माथिल्लो तहमा बढ्दै गएका कारण सरकारले प्राथमिक तहका छ हजार दरबन्दी स्तरोन्नति गरेर निम्न माध्यमिक तहमा लैजाने तयारी गरेको छ ।
सरकारको पछिल्लो परिभाषा अनुसार कक्षा १ देखि ८ सम्मलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह भनिन्छ ।
एकै तह अन्तर्गत रहे पनि तल्ला कक्षाका दरबन्दी माथिल्लो कक्षामा स्तरोन्नति गर्न लागिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी दरबन्दीबारे अध्ययन गरेर स्तरोन्नतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाएको छ । केन्द्रले पठाएको तथ्याङ्कमाथि मन्त्रालयले पनि अध्ययन गरिरहेको छ ।
केन्द्रका अनुसार पहिलो चरणमा पाँच हजार ९६५ प्राविको दरबन्दी निमाविमा लैजान लागिएको छ । त्यसपछि क्रमशः अन्य दरबन्दी पनि स्तरोन्नतिका लागि मन्त्रालयमा सिफारिस गरिनेछ । पछिल्लो समय सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी घट्दो र माथिल्लो तहमा बढ्दो क्रममा छ ।
तर निजी तथा संस्थागत विद्यालयमा भने तुलनात्मक रूपमा तल्ला तहमा धेरै र माथिल्ला तहमा थोरै विद्यार्थी देखिने गरेका छन् । केन्द्रका अनुसार शिक्षक विद्यार्थी अनुपात नमिल्दा अहिले प्राथमिक तहमा २० हजार शिक्षक दरबन्दी आवश्यकताभन्दा धेरै देखिएको छ ।

आवश्यकताभन्दा धेरै दरबन्दी देखिएको र अन्य तहमा मिलान गर्नुपर्ने भएका कारण प्राथमिक तहमा पछिल्लो दुई वर्षदेखि स्थायी शिक्षक पदपूर्तिसमेत गरिएको छैन ।
अहिले प्राथमिक तह (कक्षा १ देखि ५) मा एक लाख ४५ हजार ७५३ शिक्षक दरबन्दी छन् । यो तहमा ३५ लाख ५४ हजार ९०४ जना विद्यार्थी अध्ययनरत छन् ।
तर कक्षा ६ देखि ८ सम्म ५९ हजार ५५२ जना मात्रै शिक्षक छन् । यो तहमा विद्यार्थी भने १८ लाख १९ हजार ३६८ जना मात्रै छन् । यस हिसाबले हेर्दा कक्षा १ देखि ५ मा एक शिक्षकको भागमा औसतमा २४ जना मात्रै विद्यार्थी पर्छन् ।
जबकी कक्षा ६ देखि ८ सम्म एक शिक्षकको भागमा औसतमा ३० जना विद्यार्थी पर्छन् । औसतमा शिक्षक विद्यार्थी अनुपात यति देखिएको भए ।
























