हुम्ला–बाजुरा सीमा विवादकाे झडपका कारण हुम्लाका २२ जना पक्राउ

सि.टा. समाचारदाता

सिमकोट ।       हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद चर्किँदा हुम्लाका २२ जना स्थानीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरू खार्पुनाथ गाउँपालिका–२, थाली गाउँका २२ जना स्थानीय रहेको जनाइएको छ।

हुम्ला र बाजुराका नागरिकबीच सीमा विवादका कारण झडप भएको थियो। उक्त झडपमा बाजुराका नागरिकले हुम्लाका नागरिकमाथि कुटपिट गरेको आरोप लगाउँदै तत्काल पक्राउ पुर्जी जारी गरिएको बताइएको छ।

बाजुराको जिल्ला प्रहरी कार्यालयबाट हुम्लाको जिल्ला प्रहरी कार्यालयमा पटक–पटक हुम्लाका नागरिकलाई पक्राउ गर्न निर्देशन आएपछि असार ४ गते हुम्लाबाट २२ जनालाई पक्राउ गरी बाजुरा लगिएको जानकारी प्राप्त भएको छ।

खार्पुनाथ गाउँपालिका–२, थाली गाउँका स्थानीय वीर रावलका अनुसार आफूहरूलाई पक्राउका लागि पटक–पटक फोन तथा पत्राचार गरिँदै आएको थियो।

प्रहरी प्रशासन आफैं गाउँमा आउनुभन्दा फोनकै आधारमा गाउँको निर्णयअनुसार असार ४ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उपस्थित भएको र त्यसको भोलिपल्ट असार ५ गते बिहानै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट बाजुरा लगिएको रावलले जानकारी दिए।

पछिल्लो समय हुम्लाको रानीखर्क, लाम्पाटा र च्याचौर क्षेत्रको सीमा विवादका क्रममा भएको झडपका कारण क्षतिपूर्तिको माग गर्दै घाइतेहरूको उपचार खर्च उपलब्ध गराउनुपर्ने विषय उठाएर बाजुराका नागरिकले मुद्दा दर्ता गरेको खुलेको छ।

एकतर्फी रूपमा खार्पुनाथ गाउँपालिका–२, थाली गाउँका २२ जना नागरिकलाई मात्र किन पक्राउ गरिएको भन्ने विषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले लाम्पाटा क्षेत्रको झडप सम्बन्धी मुद्दामा बाजुराका स्थानीयले उजुरी दर्ता गरेपछि छलफल तथा वार्ताका लागि मात्र उनीहरूलाई प्रहरीको नियन्त्रणमा लिएर बाजुरा लगिएको जानकारी दिए।

यता, हुम्लावासीहरूले भने सीमा विवादको विषयमा सुदूरपश्चिम प्रदेशका सांसद, राजनीतिक नेतृत्व तथा स्थानीय तहका प्रतिनिधिहरू एकतर्फी रूपमा लागेको आरोप लगाएका छन्।

हुम्लाको सीमा अतिक्रमण भएको दाबी गर्दै कर्णाली प्रदेश तथा हुम्लाका जनप्रतिनिधिहरू समेत मौन बसेको भन्दै स्थानीय नागरिकले असन्तुष्टि व्यक्त गरेका छन्।

सीमा विवादजस्तो संवेदनशील विषयमा सम्बन्धित पक्षहरू कम बोलेको र प्रभावकारी पहल नदेखिएको भन्दै हुम्लाका नागरिकले यसलाई दुःखद विषय भएको बताएका छन्।