
ऐटन रावल
सिमकोट, असार १९ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा किर्डाक नेपाल हुम्लाको आयोजनामा हुम्ला जिल्लाका पूर्व प्रायोजित बालबालिकाहरूको युवा समूह गठन तथा सशक्तिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत हुम्लाका चार गाउँपालिका—सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकाका पूर्व प्रायोजित बालबालिकाहरूलाई समेटेर युवा समूह गठन गरिएको हो।
असार १९ गते शुक्रबार सञ्चालन गरिएको कार्यक्रममा समाज, समुदाय तथा गाउँस्तरमा अझै पनि बाल अधिकार हनन, बाल श्रम, बाल संरक्षणसम्बन्धी समस्या, बाल विवाह तथा सानै उमेरमा बालबालिका शिक्षाबाट वञ्चित हुने जस्ता विकृति तथा विसंगतिहरू विद्यमान रहेको विषयमा विशेष छलफल गरिएको थियो।

यस्ता समस्याका कारण बालबालिकाहरू प्रत्यक्ष रूपमा शोषणमा पर्दै आएको अवस्था रहेकाले त्यसको न्यूनीकरण गर्न तथा गाउँ–समुदायस्तरबाटै बाल अधिकारका पक्षमा आवाज उठाउन सक्षम र सशक्त युवा तयार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको किर्डाक नेपाल हुम्लामा कार्यरत छिरिङ ल्हामु लामाले जानकारी दिनुभयो।
आजका बालबालिका भोलिका कर्णधार भएकाले समुदाय तथा विद्यालयस्तरमा बाल अधिकार, बाल श्रम र बाल संरक्षणका विषयमा सचेतना अभिवृद्धि गर्दै बालबालिकालाई देशका बलिया खम्बाका रूपमा स्थापित गर्ने उद्देश्यले सक्रिय तथा दिगो युवा समूह गठन गरिएको गुड नेवर्स इन्टरनेशनल नेपालकि सामाजिक परिचालक धनदेवी सिराले जानकारी दिनु भयाे ।

कार्यक्रमअन्तर्गत सर्केगाड गाउँपालिकामा सुरेन्द्र शाहीको संयोजकत्वमा २१ सदस्यीय युवा समूह गठन गरिएको छ। त्यसैगरी सिमकोट गाउँपालिकामा चुनुर्बु भण्डारीको संयोजकत्वमा १७ सदस्यीय, खार्पुनाथ गाउँपालिकामा अस्मिता शाहीको संयोजकत्वमा २५ सदस्यीय तथा चंखेली गाउँपालिकामा लोकराज शाहीको संयोजकत्वमा १७ सदस्यीय युवा समूह गठन गरिएको छ।
चारवटै गाउँपालिकामा गरी कुल ९० जना पूर्व प्रायोजित बालबालिकाको सहभागितामा युवा समूह गठन तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको किर्डाक नेपाल हुम्लाका जिल्ला संयोजक जनक बुढाले जानकारी दिनुभयो।
पूर्व प्रायोजित बालबालिकाहरूको युवा समूह गठन तथा सशक्तिकरण कार्यक्रमले सहभागी बालबालिकालाई आफ्ना हक–अधिकारप्रति सचेत बनाउनुका साथै समुदाय र विद्यालयमा बाल अधिकार, बाल हिंसा, बाल श्रम तथा बाल संरक्षणसम्बन्धी मुद्दाहरू पहिचान गरी समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्न सक्षम युवा समूहका रूपमा विकास गर्ने अपेक्षा गरिएको गुड नेवर्स इन्टरनेशनल नेपाल हुम्लाका अनुगमन तथा मूल्यांकन अधिकृत निर्मला बोहराले बताउनुभयो।
उहाँका अनुसार सम्बन्धित गाउँपालिकासँग आवश्यक समन्वय गरी सञ्चालन गरिएको युवा समूह गठन तथा सशक्तिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।























