हिल्सा नाकाबाट उनानतीस किसिमका जडिबुटी निकासी गर्न सहमति

सि.टा.समाचारदाता
सिमकोट । उत्तरी हुम्लाको नेपाल र चीनको सीमाना हिल्सा नाकाबाट २९ प्रकारका जडिबुटीहरु निकासी गर्न चीनले सहमति दिएको छ । यसअघि यी जडिबुटी हिल्सा नाकाबाट निकासी गर्ने प्रयास गरिएको भएपनि यसवर्षबाट नामै तोकेर ती जडिबुटीको निकासीका लागि चीनले सहमति दिएको हो ।
चीन सरकारले यसवर्षबाट महत्वपुर्ण ब्यापारिक नाका हिल्साबाट उनान्नतीस किसिमका नेपाली जडिबुटीहरु निकासीका लागि सहमति पत्रमा नामै उल्लेख गरेर पठाएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । उनका अनुसार हिल्साबाट निकासी हुने जडिबुटीको नाम चिनीयाँ, अग्रैजी र नेपाली भाषामा उल्लेख गरिएको छ । जसमा आमला, सतुवा, अगरबुड, बन करेला, करिपता, पावडविच, चन्दन, चिराईतो, सेतकचिनी, अलैची, रातो च्याउ, मजिठो, पिपला, हींग, असुरो रहेका छन । त्यसैगरि हिल्सा नाकाबाट निकासीका लागि सहमति पाएका अन्य जडिबुटीहरुमा हर्रो, गुुल, सलाई गुग्गल, वन तरुल, कुट्की, बर्रो, लप्सी बोक्सीकाँडा, जाईफल, गुर्जो, तितेपाती, हिराधोकी र कालो तील रहेका प्रमुख जैसीले बताउनुभयो । यी जडिबुटी हिल्सा नाकाबाट निकासी गर्नका लागि ब्यापारीले काठमाडौंको अध्यागमन कार्यालयबाट क्यारेन्टाईनको पत्रका साथै जडिबुटी ल्याएर आए निकासी गर्न सकिने उहाँले बताउनुभयो । यी मध्य आधा भन्दा बढी हुम्ला जिल्लामा उत्पादन हुने जडिबुटी पनि पर्छन । चीनले हिल्सा नाकाबाट जडिबुटी निकासीका लागि सहमति पत्र दिएपछि केही दिन अगाडी आठ हजार केजी चिराईतो निकासी भई सकेको छ । चीनबाट जडिबुटी निकासीका लागि सहमति आई सकेपछि अव हिल्सामा क्यारेन्टाईन स्थापना गर्न आवश्यक रहेको नाम्खा गाउँपालिकाका अध्यष प्रेमबहादुर लामाले बताउनुभयो । हालको अवस्थामा भने ब्यापारीहरुले निकासीका लागि सहमति पत्र आएका जडिबुटी चीनको ताक्लाकोट लिनका लागि अध्यागमन बिभागबाट क्वारेन्टाईनका पत्र बोकेर जानु पर्ने हुन्छ ।
फोटो क्याप्सन
औपचारिक रुपमा जडिबुटी निकासी पाएको हिल्सा नाका ।