खच्चको सडकमा रुख ढलेपछि यातायात सेवा अबरुद्ध

फोटो क्याप्सन खच्चको सडकमा ढलेको रुख पन्छाउका लागि पुगेको स्काभेटर ।

सि.टा. समाचारदाता
सिमकोट। कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चमा सडक अबरुद्ध भएको छ । शुक्रबार बेलुका रुख ढलेर सडकमा खसेपछि सडक अबरुद्ध भएको हो ।

सडक छोपिने गरि रुख ढलेको कारण खच्चमा यातायात सेवा अबरुद्ध भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिवबहादुर रोकायाले जानकारी दिए ।

काम बिशेषले कवाडीसम्म जान लागेको भएपनि शुक्रबार बेलुकाबाट सडक अवरुद्ध भएको कारण खच्च मै रोकिएको उनले बताए । रुख ढलेर यातायात सेवा अबरुद्ध भएपछि रातभर खच्च मै बस्नु परेको र बास र खानाको समस्या भएको उहाँले बताउनुभयो । ठुलै रुख ढलेर सडकमा तेर्सिएको कारण सडक खुलाउन कठिन देखिएको छ ।

अहिले बिहान स्काभेटर आई पुगेको र त्यसवाट ढलेको रुख पन्छाउन पनि कठिन देखिएको उहाँको भनाई छ । यसबाट हुम्लाबाट सुर्खेततर्फ जाने पाँच वटा गाडी खच्च मै राकिदा साठी जना यात्रुहरु अलपत्र परेका छन् । सुर्खेतबाट हुम्ला आउने यातायातका साधन पनि खच्चमा रोकिएका छन् । दैनिक रुपमा सुख्खा पहिरो खस्ने खच्चमा यस पटक रुख ढलेर सडक अबरुद्ध भएको हो ।