सि.टा. समाचारदाता
सिमकोट । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालका समाचारमूलक पेज तथा च्यानललाई पनि अब अनुगमन गर्ने भएको छ । काउन्सिलको अधिकारक्षेत्र विस्तार हुने गरी सरकारले मौजुदा ऐन संशोधन अध्यादेश सिफारिस गरेको हो ।
अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि आचारसंहिता अनुगमन, कार्यान्वयन र अन्य नियमनमा काउन्सिलको अधिकार बढ्ने छ । मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले अध्यादेश सिफारिस गरेको हो ।
प्रेस काउन्सिलले मौजुदा ऐनलाई सामयिक रूपमा परिमार्जन आवश्यक भएकाले अध्यादेश अघि बढाइएको जनाएको छ । पुरानो ऐनमा कतिपय अधिकारक्षेत्र अपर्याप्त थिए ।
सामयिक रूपमा वर्तमान आवश्यकता सम्बोधन हुनुपर्ने कानुन काउन्सिलको पनि माग हो । अध्यादेशले सञ्चार माध्यम, पत्रकारिता र पत्रकारको परिभाषा थप गर्दै काउन्सिलले नियमन गर्न पाउने क्षेत्र बढाएको छ ।
सम्पादकीय नियन्त्रण र जिम्मेवारीमा समाचार वा पत्रकारितासम्बन्धी सामग्री सार्वजनिक रूपमा प्रकाशन÷प्रसारण गर्ने छापा, रेडियो, टेलिभिजन, अनलाइन तथा डिजिटल माध्यमलाई सञ्चार माध्यमको परिभाषामा राखिएको छ ।
सञ्चार माध्यमलाई सामग्री उपलब्ध गराउने समाचार एजेन्सी, समाचार समिति तथा सामाजिक सञ्जालमार्फत सञ्चालन हुने समाचारमूलक पेज वा च्यानललाई समेत सञ्चार माध्यमको परिभाषामा राखिएको छ । छापा, श्रव्य, श्रव्यदृश्य, अनलाइन, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट गरिने कार्यलाई पत्रकारिता परिभाषित गरिएको छ ।
अध्यादेशले सञ्चार माध्यमको सम्पादकीय नियन्त्रणमा रहेका सामाजिक सञ्जालको पनि अनुगमन र नियमन गर्ने छ । अध्यादेशमा भनिएको सञ्चार माध्यमको सम्पादकीय नियन्त्रणमा रहेका सामाजिक सञ्जालबाट प्रकाशित वा प्रसारित समाचार, शीर्षक, तस्बिर, भिडियो, थम्बनेल, क्याप्सन तथा प्रत्यक्ष प्रसारणमा सम्बन्धित सञ्चार माध्यमको सम्पादकीय जिम्मेवारी रहने उल्लेख गरिएको छ ।
अध्यादेशले सामाजिक सञ्जाल, मोबाइल वा अन्य एप्लिकेसन तथा प्रचलनमा रहेका तथा भविष्यमा विकास हुने डिजिटल र विद्युतीय प्रविधिमार्फतको पत्रकारितामा आचारसंहिता लागु हुने व्यवस्था गरेको छ । सञ्चारकर्मी, सामग्री निर्माता, प्रस्तोता, इन्फ्लुएन्सर वा अन्य जुनसुकै नामले चिनाएका व्यक्तिको पत्रकारितासम्बन्धी कामका हकमा आचारसंहिता लागु हुने छ ।
विदेशी सञ्चार माध्यम तथा समाचार एजेन्सीका लागि नेपालभित्र काम गर्ने नेपाली वा विदेशी पत्रकारलाई पनि आचारसंहिता लागु हुने छ । नेपालमा स्वतन्त्र पत्रकारिता गर्ने विदेशी पत्रकारको हकमा नेपालभित्रको पत्रकारिताका लागि आचारसंहिता लागु हुने छ ।








