सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा स्थानीय स्याउको जुस र जाम उत्पादन भएको छ । बिक्रीका लागि परिक्षणका रुपमा उत्पादन सुरु गरिएकोमा बजार पनि पाउन थालेपछि यसको उत्पादन सुरु गरिएको हो ।
स्थानीय स्याउबाट पनि परिकार बनाउनका लागि स्याउको जुस र जाम उत्पादन सुरु गरिएको सन्जय कृषिजन्य खाद्य उद्योगकी सञ्चालक लक्ष्मण बोहराले बताए । उत्पादन भएदेखि हालसम्म प्रति लिटर तीस सयका दरले पाँच सय लिटर जुस बिक्री गरिएको र तीन सय केजी जाम प्रतिकेजी २५० रुपियाँमा बिक्री गरिएको उनले जानकारी दिए ।
उनको उद्योगमा हाल १५० लिटर जुस मौज्दात रहेको छ भने बीस केजी जाम बाँकी रहेको छ । स्याउका परिकारहरु उत्पादन गरेर जिल्ला मै बिक्री गर्नका लागि जाम र जुस उत्पादन गरिएको होे । जिल्लामा पहिलो पटक स्याउको जाम र जुस उत्पादन सुरु भएको हो ।
जुसको उपभोग गर्ने समय एक वर्षको रहेको छ भने जामको छ महिना रहेको छ । त्यसैगरि उद्योगले पाँच सय प्याकेट आलु चिप्स उत्पादन गरेर प्रति प्याकेट पचास रुपियाँमा बिक्री गरेको छ भने दुई सय प्याकेट मौज्दात रहेका छन् । डालेचुकको जुस पनि उद्योगले उत्पादन सुरु गरेको छ ।
उद्योगले सञ्चालनमा ल्याएको प्रशोधन मेशिन स्याउ जोन परियोजना र ब्यवसायी स्वयम कै लगानीबाट खरिद गरिएको हो ।























