हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापा कम्पनी लिमीटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ । लिमीटेडले नयाँ वर्षको अवसर पारेर उपभोक्ताहरुलाई सहयोग पुग्ने गरि उक्त चामलको मुल्य घटाएको हो ।
नयाँ वर्षको अवसरमा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्नमा अरुवा मोटो चामलमा प्रतिकेजी पाँच रुपियाँ मुल्य घटाईएको लिमीटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापामगरले बताए ।
मुल्य घटेपछि अव सो चामल प्रतिकेजी एकाउन्न रुपियाँमा बिक्री सुरु भएको उहाँले बताउनुभयो । यसअघि प्रतिकेजी छपन्न रुपियाँ पथ्र्यो ।
लिमीटेडले पच्चीस केजीको उक्त चामलको बोरालाई एक हजार २७५ रुपियाँमा बिक्री सुरु गरेको छ । हाल लिमीटेडको हुम्ला शाखाले अरुवा मोटो सादा र अरुवा मोटो पोषण तत्व मिसाएको चालम बिक्री गर्दै आएकोमा अब दुवै खाले चामलको मुल्य घटेको र त्यो घटेको मुल्य समेत लागु भई सकेको छ ।
हाल लिमीटेडको शाखाको गोदाममा दुई हजार क्वीन्टल सो चामल रहेको छ । बिहीबार समेत सो चामललाई घटेको मुल्यमा बिक्री गरिएको छ ।
त्यसैगरि सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपो र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट पनि सो खाद्यान्न घटेको मुल्यमा बिक्री गर्न लागिएको छ । अन्य खाद्यान्नको मुल्य भने यथावत रहेको शाखाले जनाएको छ ।
























