रलिङ खोलामा काठेपुल निर्माण

फोटो क्याप्सन रलिङ खोलमा निर्माण गरिएको काठेपुल । तस्बिर ः सि.टा

सि.टा.समाचारदाता
सिमकोट । महिला उपभोक्ता समितिद्धारा पन्द्र दिनमा रलिङ खोलमा नयाँ काठेपुल निर्माण गरिएको छ । पर्यटकीय सडक निर्माण भएको र खोलामा पुल नभएको कारण यातायातका साधन सञ्चालनमा समस्या देखिएपछि काठेपुल निर्मण गरिएको हो ।

सिमकोट गाउँपालिका– ३ मा पर्ने पर्यटकीय स्थलमा रलिङ गुम्वामा जानका लागि रलिङ खोलामा नयाँ काठेपुल निर्माण भएको काठेपुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नाक्साल लामाले बताईन । उपभोक्ता समितिको अध्यक्ष महिला भएको र पन्द्र दिनमा सो पुलको निर्माण कार्य पुरा भएको हो ।

सो खोलामा काठेपुल अति आवश्यक रहेको कारण गाउँपालिकाले आन्तरिक लगानीबाट निर्माण गरेको बताउदै उनले छोटो समयमा पुल निर्माण गर्न सफल भएको बताईन । वडा अध्यक्ष पामा लामाले पर्यटकीय सडक निर्माण कार्य भएको भएपनि खोलामा पुल निर्माण नभएको कारण यातायातका साधन खोला तरेर जानु पर्ने बाध्यता रहेको कारण यातायातका साधन सञ्चालनका लागि पुल निर्माणको माग गाउँपालिकामा भए अनुसार चालु आथिृक वर्षको योजना अनुसार निर्माण कार्य भई पुल सञ्चालनमा आएको बताए ।

पुल निर्माणका लागि सम्झौता भएको छोटो समय मै निर्माण कार्य पुरा भएकोमा उपभोक्ता समितिलाई उनले धन्यवाद दिए । पुलको दुवैतर्फ ग्याविक वाल पनि निर्माण गरिएको छ । प्राविधिकहरुले पुलको अन्तिम मुल्याङ्कन समेत गरि सक्नु भएको छ ।

पुल निर्माणका लागि कुल लागत अठार लाख लागत लाग्ने गरि उपभोक्ता समितिसंग सम्झौता भएकोमा सोह्र लाख रुपियाँ गाउँपालिकाले ब्यवस्था गर्ने र बाँकी दुई लाख रुपियाँ उपभोक्ताले जनश्रमदानमा गरेका छन् ।

पुल निर्माण कार्य पुरा भएपछि पयंटकीय स्थल रलिङमा जानका लागि यातायातका साधनहरुलाई सहज भएको छ । यस वर्षको रलिङ मेलामा जाने यातायातका साधनहरु काठेपुल तरेर यात्रा गर्न पाउनेछन् । यसअघि यातायातका साधनहरु खोला तरेर जाने गर्थे ।