हिल्सा–मानसरोवर–कैलाश यात्रा गर्दा लाग्ने समय र खर्चः

सि.टा. समाचारदाता
सिमकोट । यात्रा समयः काठमाडौँ–सुर्खेत, सुर्खेतबाट हवाईमार्गबाट सिमकोट हुँदै हिल्सासम्म जान–आउन ४ दिन । हिल्सा हुँदै कैलाश–मानसरोवारको तीर्थयात्रा (जान, आउन, घुम्न ३ दिन) गरी जम्मा ७ दिनमा हिल्साको बाटो भएर जान आउन सकिने देहिन्छ । सुर्खेतबाट सिमकोट स्थल यातायात प्रयोग गरेमा केही दिन बढि लाग्न सक्छ तर खर्च भने कम लाग्ने निश्चित छ ।

यात्राखर्चः काठमाडौँबाट सुर्खेतसम्म स्थल मार्गबाट करिब ५ हजार, सुर्खेतबाट हवाइ जहाजबाट यात्रा गर्दा १५ हजार, र हिल्साबाट मानसरोवर–कैलाश जान–आउन ७–१० हजार गरी जम्मा ३० हजार लाग्ने देखिन्छ । भिसा खर्चः नेपाली तीर्थयात्राकालागि ७ दिनको २०–२५ अमेरिकी डलर (३५०० रुपैयाँ।) लाग्ने देखिन्छ ।

होटल खर्चः नेपाली तीर्थयात्रीहरू केवल २ वा ३ दिनमात्र तिब्बतको होटल वा गेष्टहाउसमा बस्दाको खर्च १५ वा २० हजार रुपैयाँले पुग्छ । खाना तथा फुट्कर खर्चः चीन तर्फको खानाखर्च होटल खर्चमै रहेको हुन्छ । नेपालतर्फको खाना खर्च करिब १० हजार । यसरी हेर्दा ल्हासा तर्फबाट करिब २ लाख र १० दिन । केरुङतर्फबाट १ लाख ५० हजार र १० दिन । नेपालको हुम्ला तर्फबाट जम्मा ७ दिन र भिसासहित जम्मा ६०–७० हजार रुपैयाँ भन्दा पनि कम खर्च लाग्ने देखिन्छ ।

यो बाटोबाट यात्रा व्यवसायीहरूले तीर्थयात्रा व्यवसाय संचालन गर्दा चीन सरकारबाट तीर्थयात्रीको यात्रा अनुमति र भिसा लिनुपर्छ । यसैगरी नेपालतर्फ स्थल तथा हवाई व्यवसायीहरूसँग पनि समन्वय गर्नुपर्ने देखिन्छ । नेपाल सरकारबाट प्रचार प्रसारको आवश्यकता देखिन्छ । यस कार्यले गर्दा विकासमा पछाडि परेको कर्णाली क्षेत्र र समग्रमा नेपालको विकासमा ठुलो टेवा पुग्न सक्छ ।