सि.टा. समाचारदाता
हुम्ला । जिल्लाको उत्तरी क्षेत्रको सिमकोट हिल्सा सडकको याल्वाङ चौरदेखि इलिङ काँधसम्मको सडक यसअघिको बीस प्रतिशत ग्रेड हाल बाह्र प्रतिशतमा झरेको छ । सो खण्डको सडकको स्तरोन्नती गर्ने कार्य हुँदा सडकको लेभल मिलाउने कार्य भएपछि यो अवस्था आएको हो ।
यसअघि ट्रयाक मात्र खोलिएको इलिङ काँधमा सडकमा बीस प्रतिशत ग्रेडमा गुड्ने यातयातका साधनलाई स्तरोन्नती पछि बाह्र प्रतिशत ग्रेडमा भरेपछि गुड्न सहज भएको छ । पहिले मोडहरु साँघुरो र उकालो भएको कारण यातायातका साधनहरुको गेयर परिवर्तन गर्नुपर्ने, मोडमा ब्याक गरेर मोड्नु पर्ने अवस्थामा रहेकोमा हाल त्यो समस्या हटेको कारण सिधै गाडीहरु गुड्ने गरेका छन् ।
उक्त काँध आउन लाग्ने बित्तिक्कै चालकहरु झर्को मान्ने गरेकोमा हाल त्यो समस्याबाट मुक्ति मिलेको छ ।
इलिङ काँधको ट्रयाक खुलाएको कच्ची सडकको अवस्था पहिले बीस प्रतिशत ग्रेड उकालोमा यातायातका साधन चढ्नु पर्नेमा हाल स्तरोन्नतीपछि उक्त ग्रेड अधिकतम बाह्र प्रतिशतमा झारिएको निर्माण ब्यवसायी सरोज रावतले बताए ।
पहिलेको सडकमा यातायातका साधहरुले उक्त काँध चढ्न यसअघि आधा घण्टा यातायातका साधनले समय लगाउने गरेकोमा हाल त्यो चौध मिनेटमा झरेको छ । सो खण्डको सडक दुई किलो मिटर रहेको छ । याल्वाङ गौडादेखि इलिङ काँधसम्म नौ दशमलव पाँच किलो मिटर सडकको याङ्गार खोलादेखि इलिङ काँधसम्मको सडकको स्तरोन्नती कार्यबाट आफु सन्तुष्ट रहेको बताउदै हिल्सा सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले दश मिटर चौढा सडक निर्माण गरिएको बताए ।
उकालो क्षेत्रमा सडक निर्माण गरिएको कारण सडकको दुवैतर्फ ग्याविन लगाउने कार्य पनि सम्पन्न भएको उनको भनाई छ । आगामी असार १९ गतेसम्म उक्त सडकको सबै कार्य सम्पन्न गर्ने गरि काम तीव्र पारिएको उहाँको भनाई छ । यो खण्डको सडक निर्माणका लागि हिल्सा सिमकोट सडक योजनाले २०७९ साल चैत २० गते कुशेश्वर एजकेएम जनजाग्रीती जेभीसंग सम्झौता भई काम सुरु भएको थियो ।
बित्तिय प्रगति ५२ प्रतिशत सम्पन्न भएको र भौतिक प्रगति साठी प्रतिशत सम्पन्न भएको सो खण्डको समड निर्माणका लागि योजनाले १७ करोड ६९ लाख ८१ हजार ३४५ दशमलव सात रुपियाँ लागत लाग्नेछ ।























