सि.टा.समाचारदाता
सिमकोट । तीन दिनदेखि बन्द रहेको कर्णाली करिडोरको बाजुरा जिल्लामा पर्ने धुलाचौर बन्दले बिधार्थी र बिरामीले सास्ती खेप्नु परेको छ ।
बाजुरा र हुम्ला जिल्लाको लाम्पाटा च्याचौरको सीमाना विवादको कारण बाजुराको हिमाली गाउँपालिकाका स्थानीयले यातायात सेव बन्द गरे पछि उहाँहरु समस्यामा पर्नु भएको हो ।
कक्षा एघारको परिक्षाका एघार जना परिक्षार्थीहरु धुलाचौर बन्दको कारण तीन दिनदेखि यतै रोकिएको बन्दको मारमा पर्नु भएका सर्केगार्ड गाउँपालिका रिप स्वास्थ्य चौकीको इन्चार्ज चन्द्र सिंह कार्कीले बताए ।
उनीहरु मध्य चार जना मानसरोवर मावि परिक्षा केन्द्र र तीन जना हिमज्योती मावि सर्केगार्ड केन्द्रका परिक्षार्थीहरु रहेको कार्कीले बताए ।
हाल कक्षा एघारको परिक्षा सञ्चालन भई रहेको छ । त्यसैगरि ताँजाकोट गाउँपालिकाले शिक्षक पदपुर्तीका लागि गरेको विज्ञापनका परिक्षा फर्म भरेको पन्द्र जना परिक्षार्थीहरु पनि धुलाचौर बन्दले यतै रोकिनु भएको छ ।
उहाँहरु मध्य एक जना परिक्षार्थी शुक्रबार बिहान हिडेर ताँजाकोटतर्फ लाग्नु भएको अर्का धुलाचौरमा रोकिएका यात्रु राम टमटाले बताए । सो परिक्षा शनिबार र आईतवार हुँदैछ ।
त्यसैगरि तीन जना सर्केगार्ड गाउँपालिकाका दमका बिरामीहरु पनि धुलाचौर बन्दको कारण रोकिनु परेको छ । उहाँले खानको पनि समस्या भएको गुनासो गर्नु भएको छ । त्यसैगरि सो बन्दमा चंखेली गाउँपाकिाका अध्यक्ष प्यारीलाल शाहीले पनि दुई दिनदेखि रोकिएका छन ।
यो बन्दले गर्दा दुई सय भन्दा बढी यात्रुहरु, सत्तरी वटा भन्दा बढी यातायातका साधनहरु धुलाचौरमा रोकिएका छन । हिमाली गाउँपालिकाले बन्द फिर्ताका लागि स्थानीय युवाहरुसंग बार्ता गरि रहेको भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
बाजुराका स्थानीयलाई सीमा क्षेत्र लाम्पाटा च्याचौरमा हुम्लाका स्थानीयले कुटपिट गरि घाईते बनाएको भन्दै त्यसको बिरोधमा गत बुधबारबाठ धुलाचौर बन्द हुँदै आएको छ ।





















