सि.टा.समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित समेत गरेको हो ।
खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोढ ९५ लाख ५७ हजार २८८ रुपियाँको बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
यसअघि मंगलबारै खार्पुनाथ गाउँपालिकाले आगामी आवका लागि नीति तथा कार्यक्रम समेत सभामा पेश गरेर पारित गरेको थियो । यसमा पूँजीगततर्फ २१ करोड ९८ लाख रुपियाँको वजेट ल्याएर कुल वजेटको ४४ प्रतिशत वजेट अंश छुट्याईएको छ भने चालुतर्फ २७ करोड ९७ लाख ५७ हजार २८८ रुपियाँको बजेट ल्याएर कुल वजेटको ५६ प्रतिशत अंश वजेट छुट्याईएको छ ।
यसका लागि वजेटको श्रोतका रुपमा संघ, प्रदेश र आन्तरिक राजस्वलाई आधार मानिएको उनले बताए । नयाँ आएको बजेटले स्मार्ट गाउँपालिका, रैथाने बाली प्रर्बद्धन, माटोका छाना विहीन घर निर्माण जस्ता नयाँ कार्यक्रमहरु समेटेको गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताए ।
वजेट भाषण गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहले प्रस्तुत गगरेका थिए । गाउँसभामा सभाका सदस्यहरुको उपस्थिती रहेको थियो । यसअघि दूई दिन सभा आयोजना गर्ने सुचना सार्वजनिक भएको भएपनि खार्पुनाथले मंगलबार दुई पटक सभाको आयोजना गरेर सम्पन्न गरेको छ ।






















