सि.टा.समाचारादाता
सिमकोट । कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका– १ को बालुकुनादेखि सलीसल्लासम्मको सडकको स्तरोन्नती कार्य दुई वटा प्रविधिबाट गरिने भएको छ । यो क्षेत्रमा सधै सुख्खा पहिरो र पहिरो खसी रहने भएको कारण मेशिनरी र जैविक प्रविधि अपनाउन लागिएको हो ।
सो खण्डको खच्चा क्षेत्रको तीन सय भन्दा बढी मिटर सडकमा बर्खामा पहिरो र हिउदमा सुख्खा पहिरो बारम्बार खसी रहने भएको कारण आधुनिक प्रविधिको मेशिनरी वाल र ग्याविन लगाउने कार्य एकातिर गरिनेछ भने अर्कोतर्फ त्यसैमा जैविक प्रविधि पनि अपनाएर निर्माण कार्य अगाडी बढाईने कर्णाली करिडोर दक्षिण खण्डको कोल्टी कार्यालयका प्रमुख बिसुनदास लामाले बताए । सडकलाई दिगो र गुणस्तरीय निर्माणका लागि यस्तो कार्य गर्न लागिएको हो ।
उक्त पहिरो खस्ने खच्चा खण्डमा उक्त समस्या सधाका लागि समाधान गर्न यी दुवै प्रबिधिबाट सडकको स्तरोन्नती गर्ने कार्य हुन लागेको हो । हाल दैनिक जसो पानी परेको समयमा पहिरो र घाम लागेको समयमा सुख्खा पहिरो खसर सडक अवरुद्ध हुने गरेको छ ।
यो समस्या समाधानका लागि सडक विभागले एक वर्ष अगाडी बिज्ञ टोली स्थलगत रुपमा खटाएर अध्ययन गराएको थियो । सो टोलीको अध्ययन प्रतिबेदन र संभावना अनुसार हाल उक्त सडकलाई निर्माण गर्न लागिएको छ ।
अब आगामी आव ०८३।०८४ मा बालुकुनादेखि सलीसल्लासम्मको सडकको स्तरोन्नती तथा कालो पत्रे गर्नका लागि एक अर्व वजेटको ब्यवस्था भएको छ । उक्त खण्डको सडकको स्तरोन्नती र कालो पत्रे गर्ने कार्य अब चाँडै सुरु हुने छ । सो खण्ड १३ किलोमिटर दुरी रहेको छ । साउनमा टेण्डर लाग्ने र त्यस लगत्तै निर्माण कार्य अगाडी बढ्ने छ ।
यता खुलालु सलीसल्ला अन्र्तगत खुलालु बालुकुना सडकको लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेर वजेटको ब्यवस्था गरेपछि निर्माण कार्य भई रहेको छ । यस कार्यले करिडोर अन्तर्गत उक्त खण्ड स्तरोन्नती तथा कालोपत्रे गर्ने योजना अघि बढी सकेको छ ।
कालीकोटको खुलालुदेखि कोटसम्म १३ किलोमिटर, भुक्काखोलादेखि बाजुराको पिलुचौरसम्म १५ किलोमिटर सडक कालोपत्र गर्न करिब दुई अर्ब १५ करोड रुपियाँ बराबरको बहुवर्षीय ठेक्का सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको थियो । उक्त खण्डको स्रोत सुनिश्चित भइसकेको छ र ४१ किलोमिटर सडकको ठेक्का छिट्टै व्यवस्थापन गरिनेछ ।
करिडोर प्रवेशद्वार खुलालु–सल्ली खण्डको ३५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति भई सकेको छ । पालाताको घाटाचौरदेखि भुक्काखोलासम्म ११ दशमलव पाँच किलोमिटर क्षेत्रमा नेपाली सेनाले कडा चट्टान फोड्ने काम गरि रहेको छ ।
पिलुचौरदेखि कुबाडी २३ किलोमिटर र कुबाडीदेखि तुम्चा २७ किलोमिटर खण्डमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन भई काम सुरु भइसकेको छ । करिडोरका १५ मध्ये नौ पुल निर्माणाधीन अवस्थामा छन् भने ६ वटा पुलका लागि बजेट सुनिश्चित भएको छ । ती पुल निर्माणका लागि करिब ६२ करोड रुपियाँ बजेट सुनिश्चित गरिएको आयोजनाले जनाएको छ ।
कालीकोट–बाजुरा सीमामा पर्ने भुक्काखोला, सेराखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकाखोलामा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ । चालु वर्षको अन्त्यसम्म पिलुचौर–कुबाडी खण्डको केही भागमा कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
























