सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग गरिएको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्याउन र अभिभावकको आर्थिक बोझ कम गर्नका लागि यी पोसाक सहयोग गरिएको हो।
खार्पुनाथ गाउँपालिका–५ को ताक्ला गाउँस्थित वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई एक/एक जोर ट्र्याकसुट सहयोग गरिएको उक्त वडाका वडा अध्यक्ष भरतजंग शाहीले बताए। यो सहयोग गाउँपालिकाबाट सञ्चालन भइरहेको पोषण कार्यक्रममार्फत विद्यार्थीहरूलाई पोसाक सहयोग गरिएको हो।
अन्य वडामा सुनौलो हजार दिनका बालबालिकाको आवश्यकता अनुसार सहयोग गरिएको र वडा नम्बर ५ को बजेटबाट उक्त पोसाक सहयोग गरिएको उनले बताए। यसले विद्यार्थीहरूको पठनपाठनमा सहयोगी हुने र आर्थिक रूपमा पनि अभिभावकलाई भार नपर्ने देखिएपछि यो सहयोग गरिएको हो।
अर्को कुरा, एउटै खालको ट्र्याकसुट सहयोग गरिएपछि विद्यार्थीहरूबीच पनि पोसाकमा समानता भएको छ। उक्त विद्यालयमा अध्ययनरत १०७ जना विद्यार्थीहरूलाई सहयोग गरिएको हो। सो विद्यालयमा कक्षा आठसम्म पठनपाठनको अनुमति पाएको भए पनि हाल कक्षा पाँचसम्म पठनपाठन भइरहेको छ।























