एक वर्षमा सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार

फोटो क्याप्सन सिमकोट बिमानस्थलबाट गर्भवति महिलाको सुर्खेतका लागिहेलिकोप्टरबाट उद्धार गरिदै ।

सि.टा. समाचारदाता
सिमकोट । आर्थिक वर्ष ०८२।०८३ को एक वर्षमा हिमाली जिल्ला हुम्लाबाट सात जना बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको छ । जिल्लामा उपचार हुन नसक्ने चिकीत्सकहरुको ठहर पछि सुत्केरी बेथा लागेकी ती गर्भवती महिलालाई स्वास्थ्य सेवा कार्यालयको सिफारिसमा प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो ।

प्रसव बेथा लागेकी जटिल केशकी सात जना गर्भवती महिलाहरुलाई हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको जिलला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन । उद्धार गरिएकी सातै जना गर्भवतीको सफल सल्यक्रिया गरेर सुत्केरी गराइएको र सातै जना आमा र शिशु बाँच्न पनि सफल भएको उनको भनाई छ ।

यसरी उद्धार गरिएकी गर्भवतीमा २०८२ सालको पुस १२ गते सर्केगार्ड गाउँपालिका– ७ की बीस वर्षकी मनिसा शाही रहनु भएको थियो भने माघ २२ गते २१ वर्षकी खार्पुनाथ गाउँपालिकाकी हिरा बुढा, माघ २९ गते सर्केगार्ड गाउँपािलका – ५ की २० वर्षकी किस्मती बिक, फागुन २ गते सिमकोट गाउँपालिका– ७ की ३० वर्षकी नम्रता शाही, चैत २ गते चंखेली गाउँपालिका– ४ की ३४ वर्षकी वासना शाही, चैत ३ गते सिमकोट गाउँपालिका– ४ की २७ वर्षकी अस्मीता बुढा र २०८३ बैशाख ७ गते खार्पुनाथ गाउँपालिका– क ४४ वर्षकी सरिता शाही रहनु भएको छ । यी गर्भवती महिलाको हेलिकोप्टरमा उद्धार राष्टपति महिला उत्थान एकाईको आर्थिक सहयोगमा गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा छ जनाको उद्धार गरिएको थियो । सवै गर्भवती जटिल केशका भएको कारण स्वास्थ्य सेवा कार्यालयको सिफारिसमा उद्धार गरिएको हो । यो कार्यक्रम प्रसव बेथा लागेकी गर्भवती महिनाको जीवन रक्षाको कार्यक्रम भएको छ ।