सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको २३ दिनपछि बुधबार मङ्गलबहादुर शाहीले विश्वासको मत लिएका छन् । मत लिनुअघि मन्त्रीपरिषद विस्तार गरेका थिए ।
२२ दिनसम्म एक्लो मुख्यमन्त्री हुनुभएका शाही बुधबार विश्वासको मत लिएपछि एमालेका तीन जना मन्त्रीपरिषद्मा सहभागी भएपनि त्यो मन्त्रीपरिषद् अझै पूरा हुन सकेन । सत्ता साझेदार दल एमालेले तीन मन्त्रालय र नेकपाले चार मन्त्रालय लिने सहमति गरिएको थियो ।
एमालेले आफ्ना तर्फबाट मन्त्रीको नाम छानेर पठाए पनि मुख्यमन्त्रीकै पार्टीबाट मन्त्री छनोट गर्न नसकेपछि शाही नेतृत्वको मन्त्रीपरिषद् अझै अधुरै रहेको छ । एमालेबाट मुगुका जीतबहादुर मल्ल, हुम्लाका कलबहादुर हमाल र जुम्लाका टेकराज पछाईंलाई मन्त्रीपरिषद्मा पठाएको छ ।
मल्ललाई सामाजिक विकास मन्त्रालय, हमाललाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र पछाईंलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीलाई बुधबार बेलुकानै शपथग्रहण गराइ सकिएको छ । नेकपाबाट सहभागी हुने मन्त्रीको अन्तिम नाम अझै टुङ्गो लाग्न सकेको छैन ।
नेकपाको भागमा मुख्यमन्त्रीबाहेक भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परेको छ । नेकपाबाट मन्त्रीमा पठाउनेको नाममा छलफल भइरहेको पार्टीले जनाएको छ ।
सत्ता साझेदार एमालेबाट तीन जना मन्त्री सहभागी भइसकेको हुँदा नेकपाले मन्त्रीपरिषद् समावेशी पनि बनाउनुपर्ने जिम्मेवारी आएको हुँदा यसबारे छलफल भइरहेको र दुई÷चार दिनभित्र मन्त्रीको टुङ्गो लाग्ने जनाउदै आएको छ । मन्त्रीपरिषद्लाई लैङ्गिक, समावेशी बनाउनुपर्ने हुँदा त्यसैको तयारीस्वरूप नाम छनोट गर्न केही ढिलाइ भएको हो ।



















