- सि.टा.समाचारदाता
नेपाली कांग्रेस बाँकेले चार महिने पार्टी संगठन सुदृढीकरण अभियान थालेको छ। पुस मसान्तसम्म चल्ने गरी चार महिने अभियान थालिएको हो।
‘जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ नाम दिइएको चार महिने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएका छन्।
अभियानको मंगलबार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ। जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको जिल्ला सभापति नारायण प्रसाद गौडेलले बताए।
स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रुपमा पहलकदमी लिने, भ्रातृ, शुभेच्छुक संगठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्नेलगायतका उद्देश्य यो अभियानको छ। यो अभियानको प्रस्ताव कांग्रेस बाँकेले दोस्रो जिल्ला सम्मेलनबाटै पारित गरेको प्रवक्ता डिल्ली गिरीले बताए।
अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीको संगठनलाई सुदृढ बनाउँदै अझ सशक्त बनाउनतर्फ लाग्न आग्रह गरे। लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भए मात्र प्रतिष्पर्धी दलहरुसंग प्रतिष्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाव, बैमनश्य र तिक्तता त्यागेर संगठन निर्माणमा लाग्न आग्रह गरे।
पुनले कांग्रेस बाँकेको क्रियाशीलता लोभलाग्दो भएको बताए। नेपाली कांग्रेस बाँकेकी निर्वतमान सभापति किरण कोइरालाले चार महिने अभियानले पार्टीलाई पुनर्जागृत गर्ने विश्वास व्यक्त गरिन्।















