स्मार्ट बोर्डबाट पठनपाठन सुरुवातले प्रभावकारी सिकाई हुने बिस्वास

सि.टा.समाचारदाता
सिमकोट । विद्यालयमा स्मार्ट बोर्डमा पठनपाठनले शिक्षण सिंकाई प्रभावकारी देखिएको छ । प्राप्त भएका स्मार्ट बोर्डमा विद्यालयहरुले पठनपाठन सुरुवात गरेपछि बिधार्थीको त्यसमा आर्कषण बढ्नुका साथै कक्षामा सकृयता समेत बढेको हो ।

सर्केगाड गाउँपालिका–२ स्थित लाली गुराँस माध्यमिक विद्यालयको कक्षा दशका छात्र हिमेश कार्कीले स्मार्ट बोर्डबाट पठनपाठनले फरक शिक्षण सिंकाईमा फरक र नयाँ अनुभूति भई रहेको बताए । यो बिधिबाट पठनपाठनले आफु मात्र नभएर कक्षामा अध्ययनरत सवै बिधार्थीहरुमा उत्सुक्ता देखिएको छ । यसले शिक्षण सिकाई प्रभावकारी र गुणस्तरीय भएको सुरुवाती चरणमा बिधार्थीहरुको बुझाई छ ।

स्मार्ट बोर्डमार्फत शिक्षण–सिकाइ कार्य सुरु गरिएको उक्त विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले बताए । सर्केगाड गाउँपालिकाबाट सहयोग स्वरुप प्राप्त भएका पाँच वटा स्मार्ट बोर्डले कक्षा ६ देखि कक्षा १० सम्मका कक्षाकोठामा जडान गरी नियमित पठनपाठन सुरु गरिएको छ ।

अब यी कक्षामा नियमित रुपमा सबै विषयको पठनपाठन स्मार्ट बोर्डबाट हुने छ । विद्यालयले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम उपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण प्रणाली लागू भएसँगै विद्यार्थीलाई पाठ्यवस्तु, दृश्य सामग्री, भिडियो तथा डिजिटल प्रस्तुतीकरणमार्फत सहज रूपमा बुझाउन सकिने देखिएको छ । यसले विद्यार्थीको सिकाइ उपलब्धि बढाउनुका साथै कक्षाकोठालाई थप आकर्षक र प्रभावकारी बनाएको हो ।

स्मार्ट बोर्डको प्रयोगसँगै शिक्षकहरूले आधुनिक प्रविधिको उपयोग गरी अन्तरक्रियात्मक ढंगले पठनपाठन सञ्चालन गर्न थालिएको हो । यसबाट विद्यार्थीमा सिकाइप्रतिको रुचि वृद्धि हुने र डिजिटल शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।