फोटो क्याप्सन तिब्बती मार्गबाट हिल्सा आई पुगेका खाद्यान्न लोड गरिएका ट्रकहरु ।

सि.टा.समाचारदाता
सिमकोट । काठमाडौंबाट रसुवागढी हुँदै तिब्बती मार्ग भएर खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको खाद्यान्न हुम्ला आई पुगेको छ । लिमीटेडले सो मार्ग भएर हुम्लामा खाद्यान्न ढुवानी गरि रहेको र यसअघि हिउदमा नारा नाका बन्द भएकोमा हाल कागजात मिलाउन समय लागेको कारण आर्थिक वर्षको अन्तिम समयमा सो खाद्यान्न ढुवानी भएर आई पुगेको हो ।

आर्थिक वर्ष ०८२।०८२ को लिमीटेडबाट ढुवानी अनुदानमा काठमाडौंबाट रसुवागढी हुँदै केरुङबाट तिब्बती मार्ग भएर ताक्लाकोटदेखि हिल्सासम्म स्थल मार्गबाट ढुवानी भएर खाद्यान्न आई पुगेको लिमीटेड हुम्ला शाखाका प्रमुख कृष्ण पूनमगरले बताए । तीन हजार दुई सय क्वीन्टल खाद्यान्न कोटा रहेको र सो खाद्यान्न सवै एउटै लटमा हिल्सा आई पुगेको उहाँले बताउनुभयो ।

तिब्बती मार्ग भएर हिल्सा आई पुगेको खाद्यान्नमा सात सय क्वीन्टल नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका लागि पठाईएको छ भने एक हजार क्वीन्टल नाम्खा गाउँपालिकाका अन्य वडाका लागि याल्वाङ बिक्री केन्द्रमा ढुवानी गरिएको छ । त्यसैगरि बाँकी एक हजार पाँच सय क्वीन्टल खाद्यान्न शाखा कार्यालय सिमकोटमा ढुवानी गरिएको छ ।

यो खाद्यान्न प्रतिकेजी उनानचालीस रुपियाँमा काठमाडौंबाट रसुवा, तिब्बी मार्गबा हिल्सा भएर बिक्री केन्द्र र शाखासम्म ढुवानी गरिएको हो । खाद्यान्न ढुवानीको जिम्मा पाएको लामा ट्रेडर्स एण्ड सप्लायर्सले काठमाडौंबाट केरुङसम्म नेपाली अठ्ठाईस वटा ट्रकमा ढुवानी गरेको खाद्यान्न त्यताबाट हिल्सासम्म आठ वटा कन्टेनरमा लोड गरेर हिल्सासम्म ढुवानी गरिएको हो ।

काठमाडौंक थापाथलीबाट ढुवानी सुरु भएको सो खाद्यान्न सत्रौ दिनमा हिल्सा आई पुगेको हो । यो खाद्यान्न ढुवानी कार्यले बिशेष गरि हाल नाम्खा गाउँपालिकाका लागि निक्कै उपयोगी देखिएको बताउदै हिल्सा पुग्ने बित्तीक्कै नाम्खाका दुई वटा बिक्री. केन्द्रमा पुर्याउन सहज भएको छ ।

यसअघि बर्खायाममा पहिरोको कारण सडक र मौसमको कारण हवाई सेवा अबरुद्ध हुने भएको कारण लिमीटेडले बिकल्पका रुपमा टिब्बती मार्गबाट हुम्लाको खाद्यान्न समस्या समाधान गर्न यो उपाय अवलम्बन गरेको र चालु आर्थिक वर्षमा समेत तिब्बती मार्ग भएर खाद्यान्न ढुवानी हुने कार्यक्रम रहेको छ ।

चालु आर्थिक वर्षसम्म यसरी खाद्यान्न बिदेशी मार्ग भएर ढुवानी गर्न लागिएको भएपनि अब हुम्ला जिल्ला पुर्ण रुपमा सडक सञ्जालसंग जोडिई सकेको कारण आफ्नै पैदल मार्गबाट खाद्यान्न ढुवानी गर्ने ब्यवस्था गर्न हुम्लावासीको लिमीटेडसंग माग रहेको छ ।