सिमकोट गाउँपालिकाद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना

सार्वजनिक सुनुवाई कार्यक्रमका सहभगीहरु ।
तस्बिर : लोग भण्डारी

लोग भण्डारी
सिमकोट । सिमकोट गाउँपालिकाले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । सोमवार सिमकोट गाउँपालिकाले आयोजना गरेको आर्थिक वर्ष ०८०।०८१ को सार्वजनिक सुनुवाई कार्यक्रममा यो अवस्था गतवर्ष जस्तै पून दोहोरिएको हो ।
गाउँपालिका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा सञ्चालन भएको सुनुवाई कार्यक्रममा गत आर्थिक वर्ष ०८०।०८१ म सञ्चालन गरिएका कामहरुको बिबरण निमित्त प्रशासकीय अधिकृत उजिर रोकायाले गरेका थिए । जसमा पाँच वटै विषयगत समितिगत रुपमा प्रगति बिबरण प्रस्तुत गरिएको थियो । त्यसमा भौतिक तथा वित्तिय प्रगति समेत पेश गरिएको थियो । जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम खासगरि सेवा प्रदायक निकायले सेवाग्राहीका लागि गरिएका कामको हिसाव किताव गर्ने उद्धेश्य रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम पारदर्सीताको कडी हो  । कार्यक्रममा प्रस्तुत गरिएको प्रगति बिबरण माथि केही जिज्ञासा पनि उठेका थिए । त्यसका लागि गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष शुशिला भाम रोकाया, निमित्ति प्रशासकीय अधिकृत रोकाया लगाएतले आफ्नो भनाई समेत राखेका थिए ।
यसका लागि मुख्य सेवाग्राहीहरुको भने निक्कै न्यून उपस्थिती रहेका थियो ।

नजिकको सरकारका रुपमा मानिने गाउँपालिकाले गर्ने बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम प्रति भने सेवाग्राहीको उपस्थिती न्यून रहेको थियो  । गाउँपालिकाले भने राम्रै तयारी गरेर कार्यक्रम आयोजना गरेको देखिन्थ्यो । किन कि सो कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु जवाफ दिने तयारीका साथ उपस्थित भएको देखिन्थ्यो । गाउँपालिकाले एक वर्षमा गरेका कामहरु राम्रै तयारीका साथ प्रस्तुत गरेको थियो । तर ती कार्यक्रमहरु माथि औला उठाउने कुनै सेवाग्राही नदेखिनु गाउँपालिकावासीका लागि सकरात्मक पक्ष भने होईन । जसको कारण गाउँपालिकाले आलु र आगामी वर्ष कसरी अझै प्रभावकारी काम गर्ने भनेर सोच्न बाध्य बनाउन सकिन्थ्यो ।